२०६४ सालको दसैंलगत्तै मेरो बिहे भयो। बिहेपछि भारतको मणिपुर छोडेर काठमाडौं आइयो। बिहे भएको केही महिनामै श्रीमान विदेश जानुभयो। मेरो लागि भने काठमाडौं नै परदेश थियो।
काठमाडौंमा दसैंमात्र हैन, सामान्य दिनचर्या पनि फिकाफिका लाग्थ्यो। ‘होमसिक’को समस्याले निकै सतायो। सुरूका केही महिना निकै सकसमा बिते। ‘नेपाली तारा’ कार्यक्रममा भाग लिएपछि भने बल्ल आफ्नै रूचिको क्षेत्रका साथीहरू बने। मन बहलिन थाल्यो। तै पनि काठमाडौंका चाडवाड निरश लागिरह्यो।
तीन वर्षपछिको दसैंमा जब आफ्नै जन्मथलो मणिपुरको मोटमुङ पुगेँ, बल्ल दसैंको आनन्द फर्केर आएजस्तो भयो।
यो वर्ष आमा मणिपुरबाट काठमाडौं आउनुभएको छ। आमाको हातको टीका लगाउने कुराले उत्साहित बनाएको छ। तर पनि एउटा चिन्ता भने छ, साइतअनुसार टीका लगाउन पाइने हो कि हैन! एउटा सांगीतिक कार्यक्रममा गीत गाउन टीकाकै दिन साढे एक बजे दिउँसो जनकपुर जाने ‘फ्लाइट’ छ।
आमा काठमाडौंमै हुनुहुन्छ, खुसी छु। तर गाउँ गएजस्तो नहुँदोरहेछ। मणिपुर जाँदा आमासँगै आफन्तको हातको टीका लगाउन पाइन्छ।वर्षौंपछिको साथीभाइसँग भेट हुन्छ। त्यही भएर होला, मणिपुरकै दसैं मनपर्छ।
मणिपुरका नेपालीका लागि दसैं तिहारमात्रै हैन, हरेक नेपाली चाडपर्व विशेष हुन्छ। उनीहरू कहिले चाड आउला भनेर कुरिरहेका हुन्छन्। सानो छँदा ‘अहो! नेपाली कार्यक्रम भइदिए चौबन्दी चोली लाएर नाच्न पाइन्थ्यो’ भन्ने लाग्थ्यो। दसैंमा सबभन्दा रमाइलो नयाँ कपडा लगाउन पाउँदा हुन्थ्यो।
साथीसंगीसित ‘तेरो पैसा कति भयो? मेरो त यति भयो’ भन्दै नयाँ पैसा गन्दै बस्नु कति रमाइलो लाग्थ्यो। नढाँटी भन्दा दक्षिणाको लोभले नचिनेको घरमासमेत टीका लगाउन गइन्थ्यो।
हाम्रो घरभन्दा अलि पर चारहजारे भन्ने चोक छ, दसैंको अवसरमा त्यहाँको मन्दिरमा नवदुर्गाको भव्य पूजा हुन्थ्यो। मणिपुरभरिका विभिन्न चोकबाट चारहजारेमा भाग लिने भजन मण्डलीहरूले भाग लिन्थे। दसैंका बेला सामूहिक र व्यक्तिगत रुपमै गायन प्रतिस्पर्धा चल्थ्यो।
मेरा काका सोमनाथ पोखरेल असाध्यै राम्रो हार्मोनियम बजाउने र गाउने। म पनि काकाले नेतृत्व गरेको कृष्ण कीर्तन मण्डलीमा गाउँथे। काकाको भजन सुन्न धेरै मानिस आउँथे। मन्दिरमा नआएका मान्छेहरू पनि माइकमा हाम्रो काकाको भजन सुन्न भनेर कुर्थे।
कीर्तन मण्डलीमा मेरो स्वर र गायन सबैले मन पराउँथे। दसैंमा हुने एकल गायन प्रतिस्पर्धामा सधैं मैले जित्थेँ। अरूले जित्न नसक्ने भएपछि प्रतियोगितामा भाग नलिइदिनुस् समेत भने।
भजन गाउँदागाउँदै म ‘तिम्रो सम्झना’ र त्यसपछि ‘सुर सैत सैरुप’ ब्यान्डको सदस्य बनेँ। ‘सुर सैत सैरुप’ले मलाई गायकको पहिचान दिलायो। काठमाडौं आउने बेला मणिपुरी भाषाको फिल्मका लागि मैले उता हुँदै गाएको ‘नोखिदरा’ गीत यताको ‘ठमेल बजार’जत्तिकै हिट भएको थियो।
‘नोखिदरा’पछि फिल्ममा गाउने प्रस्ताव भटाभट आइरहेको बेला म काठमाडौं आउनुपर्यो। मेरो सांगीतिक भविष्य कता जाला भन्ने चिन्ता थियो त्यो बेला। ‘ठमेल बजार’ मेरा लागि अर्को ‘नोखिदरा’ साबित भयो।
झन्डै दस वर्षदेखि संलग्न भएर विभिन्न कलाकारका गीत गाउँदै आएकी मैले पलेँटी संगीत शृंखलामा ‘नोखिदरा’ गाएको क्षण विशेष लाग्छ। ‘ठमेल बजार’पछि ‘काले दाइ’ हुँदै धेरै गीत चर्चित बनेपछि दसैंकै बेला धेरै पटक नेपालबाहिर जानु परेको छ।
यस्तो बेला आयोजकले नै खाने, बस्ने र घुम्ने प्रबन्ध मिलाएका हुन्छन्। तर यसरी चाडवाडका बेला बाहिर जानुपर्यो भने मलाई न्यास्रो लाग्छ। रमाउनै सक्दिनँ।
दसैं भन्नेबित्तिकै कहिले गाउँको चउरमा बनाइएको पिङमा मच्चिँदै संगीहरूसँग खितखिताएको कुरा याद आउँछ। कहिले बुबाले घर अगाडिको ठूलो आँगनमा बजाइदिने स्पिकरबाट निस्कने गीत संगीतको तालमा नाचेको याद आउँछ। यसरी स्मृतिमा फर्कंदा मलाई छोडेर परलोक गइसक्नुभएको बुबाको याद आउँछ।
दसैंको बेला काठमाडौं वा नेपालकै अरु ठाउँमा हुँदा मणिपुरको दसैं मिस गर्छु। विदेशमा हुँदा पनि म काठमाडौंको हैन, मणिपुरकै दसैं मिस गर्छु।