अछाम : पुनर्निमार्ण सुरु भएको एघार वर्ष भइसक्दा पनि अछाम दरबार सकिएको छैन। काठ अभावको कारण देखाउँदै निर्माण कम्पनीले दरबार निमार्णको काम रोकेको हो। यो दरबारलाई अछामकै पहिचानका रुपमा लिइने गरिन्छ। ०५८ फागुन ४ मा तत्कालीन माओवादीको आक्रमणमा दरबार ध्वस्त भएको थियो। दरबार पुनर्निर्माणको काम ०६५ मा सुरु भएको हो। ७ वर्ष अवरुद्ध भएको काम ०७५ भदौमा पुन सुरु गरिएको थियो।
दरबार निर्माणको ढिलाइले स्थानीयलाई समेत चिन्तित बनाएको छ। स्थानीय रत्ना ढुंगानाले भनिन्, ‘ऐतिहासिक महत्त्व बोकेको अछाम दरबार बनाउने काममा निकै लापरबाही भएको छ। दरबारसँग पुर्खाको इतिहास जोडिएको छ। निर्माण व्यवसायीको लापरवाही र सरोकारवालाले चासो नदेखाउँदा निमार्णमा मनपरी भएको छ। ’
दरबार नजिकै घर भएका दिनेश स्वाँर दरबार निमार्णलाई तीब्र गतिमा अगाडि बढाउन आन्दोलन नै जरूरी भएको जिकिर गर्छन्। उनले भने, ‘यत्रो वर्ष हुँदा पनि जस्ताको तस्तै छ। ठेकेदार काम गरे जस्तो मात्र गर्छन्, सबैको आँखा अगाडि रहेको दरबारको त यस्तो हालत छ, दुर दराजराजका विकास निमार्णको अवस्था झन् कस्तो होला ? ’
जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले ठेकेदारलाई काम सम्पन्न गर्न पटक पटक दबाब दिए पनि काम नसकिएको बताउँछन्। उनले भने, ‘ठेकेदारले काठ अभाव भन्दै आएको छ। गत भदौमा आवश्यक काठ जहाँबाट पनि ल्याउन सकिने निर्णय प्रशासनले गरेको छ। तर काम सुरु भएको छैन। ’
शहरी विकास डिभिजन धनगढी प्रमुख सुरेश वाग्लेले अब यो कामले गति नलिए विकल्प खोजिने बताए। ‘काठ कहा“बाट कसरी ल्याउन सकिन्छ त्यसमा सहजिकरण गर्न हामी तयार छौं। त्यति गर्दा पनि पुनर्निर्माण सुरु भएन भने अर्को प्रक्रियामा जान्छौं’, उनले भने।
दरबार पुनर्निर्माणको ठेक्का २ करोड २५ लाखमा लगाइएको हो। ठेकेदार जयबहादुर साउदले दरबार पुनर्निर्माणको ५० प्रतिशत भन्दा बढी काम सकिएको दाबी गर्छन। ठेकेदार कम्पनीले हालसम्म ९० लाख रकम निकासा लगिसकेको छ।
उनले भने, ‘आवश्यक निर्माण सामाग्री सहज उपलब्ध गराउन नसक्दा काम रोकिएको हो। पुनर्निर्माणलाई गति दिन सामग्री खोजी रहेको छु। ’ ०६७ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए काठ अभावकै कारण एघार वर्षसम्म पुनर्निर्माण नसकिएको ठेकेदार साउदले स्वीकार गरे।
झन्डै डेढ सय वर्षअघि मंगलसेनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरु भइ उनका भाइका पालामा अर्थात १९३५ सालमा अछाम दरबार निर्माण सकिएको हो।
सरकारले ०२९ सालमा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहसँग ९० हजारमा यो दरबार किनेको इतिहासका जानकार सुरतबहादुर शाह बताउँछन्। योगेन्द्रबहादुरका भाइ तपेन्द्रबहादुर शाह सेनाका जर्नेल रहेकाले उनैले सरकारसँग दरबार बिक्रीको व्यवस्था मिलाएको बताइन्छ। तीन तले दरबारमा ३० कोठा थिए। दरबारको गारो मासबाट निमार्ण गरिएको थियो।
दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, तत्कालीन जिल्ला पञ्चायत, मालपोत, जिल्ला अदालतलगायत कार्यालय सञ्चालन भए पनि आक्रमणका बेला जिल्ला प्रशासन कार्यालय मात्र थियो। माओवादीको आक्रमणमा प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री समेत मारिएका थिए। घटनामा क्याप्टेनसहित ५३ सेना, ५९ प्रहरी, २ निजामती कर्मचारी र ८ सर्वसाधारण गरी १ सय २२ जनाको ज्यान गएको थियो।
अन्नपूर्ण पाेष्टमा गीता कुवरले लेखेकाे छ ।