• होमपेज
  • राजनीति
  • विप्लव नेकपाका चार नेताले धराैटी बुझाउन मानेनन्, पाँचै जना कारागार चलान

विप्लव नेकपाका चार नेताले धराैटी बुझाउन मानेनन्, पाँचै जना कारागार चलान

  • बुधबार, बैशाख १८, २०७६
विप्लव नेकपाका चार नेताले धराैटी बुझाउन मानेनन्, पाँचै जना कारागार चलान

बैशाख १८, विराटनगर – नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कोशी व्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुस्कर’सहित पाँच जना कारागार चलान भएका छन् ।

जिल्ला अदातल सुनसरीमा बुधवार भएको थुनछेकको बहसपछि न्यायाधीश ध्रुबकुमार सुवेदीको एकल ईजलासले पुस्करसहित कोशी व्युरो सदस्य माधव गौतम ‘आकाश’, मोरङ ईन्चार्ज कृष्ण कुमार श्रेष्ठ ‘प्रज्वल’ र जिल्ला सदस्य रमेश खड्कालाई धरौटिमा रिहा गर्ने आदेश दिएको थियो । भने सुनसरीको पानमाराबाट फागुन १५ गते हतियारसहित पक्राउ परेका पाँचथरका देबकुमार साँवा लिम्बूलाई पुर्पक्षको लागि कारागार चलान गर्न आदेश दिएको थियो ।

मंगलवार र बुधवार दुई दिन भएको बहसपछि चारै जनालाई जनहि ५० हजार धरौटिमा रिहा गर्ने अदालतले आदेश दिएको थियो । तर अदालतको आदेशमा रिहा भएलगत्तै पुन प्रहरीले गिरफ्तार गर्ने तयारी गरेपछि उनीहरु धरौटि नबुझाई लिम्बुसँगै कारागार गएका हुन् ।
पाँचैजनालाई बुधवार नै सुनसरीको झुम्का स्थित कारागार चलान गरिएको छ ।

ओखलढुंगा घर भएका पार्टीका ब्युरो संयोजक श्रेष्ठ र सदस्य काभ्रे घर भएका माधब गौतम गत चैत १० गते मोरङको कानेपोखरीबाट पक्राउ परेका थिए भने चैत १३ गते सुन्दरहरैचाबाट पार्टीका मोरङ इञ्चार्ज भोजपुर घर भएका श्रेष्ठ र चैत १२ गते इटहरीबाट सुनसरीका खड्का पक्राउ परेका थिए ।

अदालतको आदेशमा रिहा भएका चारै जना नेतालाई अदालत परिसरबाटै पुन गिरफ्तार गर्ने प्रहरीको तयारी देखेपछि उनीहरु धरौटी जम्मा नगर्ने भन्दै कारागार गएका हुन् । पछिल्लो समय नेकपाका कार्यकर्तालाई अदालतबाट छुटेलगत्तै पक्राउ गर्ने क्रम बढेका छ । धरौटीमा छोड्न आदेश गरिएकाहरु पनि अदालत परिसरमा पुनः पक्राउ गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएपछि आफुहरु कारागार नै जाने बताएका थिए ।

बुधवार अदालत परिसरमा उपस्थित गराईएका पाँचै जना नेता कार्यकर्तालाई बहसका क्रममा ईजलासमा राखिनुबाहेकको पुरै समय अदालतभित्रै प्रहरी भ्यानमा हत्कडि लगाएर नै राखिएको थियो । उनीहरुका परिवारले पाँचै जनालाई अदालत परिसरमा प्रहरी भ्यानभित्रै राखिएको र भेट्न जाँदा तिमि पार्टीको के हौ ? भन्दै प्रश्न गर्ने र भेट्न मिल्दैन भनेर हप्काउदै मानसिक यातना दिएको दुखेसो पोखेका छन् ।

पक्राउ परेका लिम्बूलाई हातहतियार तथा खरखजाना, संगठित अपराध र राजद्रोहको मुद्दा चलाइएको थियो । पक्राउ परेका लिम्बूसँग फोन सम्पर्क गरेको आधारमा अन्य चार जनालाई पनि सोही मुद्दा चलाइएको थियो । बन्दीकाे पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, वरिष्ठ अधिवक्ता राम घिमिरे, अधिवक्ताहरु भरत बहादुर थापा, केदार अधिकारी, आश्मिनी भट्टराई, निराजन ओझा र प्रेम पोख्रेलले बहस गरेका थिए ।

धरौटी नबुझाएर कारागार चलान भएका पुस्कर, प्रज्वल, माधव र रमेशले अदालतको आदेशमा रिहा भएपनि धरौटी बुझाएलगत्तै पक्राउ गर्ने तयारी गरिएकाले आफुहरुले धरौटी नबुझाएको बताए । क्रान्तिकारी कम्युनिस्टका लागि सामान्य जेल पनि छुट्टै मोर्चा भएकाले बन्द पर्खालभित्रबाटै एकिकृत जनक्रान्तिका लागि संघर्ष जारी राख्ने प्रतिकृया दिए ।

चर्चामा

सम्बन्धित समाचार