बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • खप्तड छेडेदह
  • बाजुराका एक सय बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा

बाजुराका एक सय बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा

  • बिहिबार, साउन ७, २०८३
सेयर गर्नुहोस् :
बाजुराका एक सय बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा

टेक बहादुर बुढा–बाजुराका नौ वटै स्थानीय तह बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाका १ सय बढी गाउँ उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । भिरालो भूभाव, कमजोर भू–बनावट, नदी कटान तथा अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको बढ्दो असरका कारण पुरै जिल्ला नै विपद्को उच्च जोखिममा रहेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३’ अनुसार जिल्लाका नौ वटै स्थानीय तहहरु उच्च जोखिममा रहेका छन् । नौ वटै स्थानीय तहका करिब एक सय ५० गाउँ बस्तीहरु बाढी पहिरो जस्ता विपद्जन्य घटनाको उच्च जोखिममा रहेको जिल्ला विपद् प्रतिकार्य योजनामा उल्लेख गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताएका छन् ।

जिल्लाका बडीमालिका नगरपालिकाका घागर, भौनेरा, पाटा, मुसिगाउँ, सेरी, घोगाली, तिपाडी, वलेना, सल्लेरीवाडा, जिल्ली, सिराडी, बाउली र गडखेत बाढी पहिरोको उच्च जोखिममा रहेको जनाएको छ । यस्तै बुढीगंगा नगरपालिकाका कुडी, बल्दे, नडाङ, गड्तोला, बसाली, साउबाडा, खोडालबाडा, काटेवाडा, फालासैन, बाम्का बजार, बेतालमाडौं, सेलापाखा आदि स्थानहरु जोखिमयुक्त रहेका छन् ।

त्रिवेणी नगरपालिकाका बिसान बजार, सल्लेरी, पिपलसैन, राउतेला, किम्नी, ढोड क्षेत्र गैरे, पन्धारा गाउँ, फल्नेतोला, पन्ताली, ढडाली, बागापाटा, कालापानी, गिरीवाडा, नृपाली टोल, ताम्सु, नुवाकोट उच्च जोखिममा रहेको उल्लेख गरिएको छ । त्यस्तै बुढीनन्दा नगरपालिकाको मटेला, पारतोला, पीपलडाली, रावतवाडा, कोल्टी, नुरी, कालगोठी, खुवा, भिडीगाउँ, भुलेना, जैलु, ताडी, घोडाकोट, दैया, लाटोबस्ती, खारगडा, पहेलसेरा, नौलाकोट, शेरकाटीया, खड्कावाडा बाढी पहिरोको उच्च जोखिममा छन् । गौमुल गाउँपालिकाको माडी, सिम, अन्द्राडी, दर्गाली, खौला, अम्लिस, डाडा, गताडी, मल्लोदुगन, पौदाली, कहुडा, पाटा, चल्लोकाट्ना, आगर, रनेडा, जडे, तलदुगन, आला, धल्काडा, काटीगाउँ, बेहरी, दल्याडी, गर्जे, पाते, भिराली, बेडुखला, डाडावाडा, कोट, नक्राडा, पडीकोट, शान्तिटोल, बाउनी, टुनी, टाडाकोट, बसाला आदि बस्तीहरु जोखिमपूर्ण अवस्थामा रहेका छन् ।

त्यस्तै खप्तड छेडेदह गाउँपालिकाका नाउलीखोला, बल्दे, टुनिसैन, धनाल्त, गुइवन, चास्ला, डोगडी, सिम्पाटा, नाइना, सुदाडा, जगन्नाथ गाउँपालिकाका खारखोला, मुसेखोला, तल्लो हुनी, जुड्डी उच्च जोखिममा रहेको विपद् प्रतिकार्य योजनामा उल्लेख गरिएको छ । यस्तै स्वामीकार्तिक खापर गाउँपालिकाका बर्कु, जोरु, मुक्तिकोट, जिजुवा, सुपाना, डेनी, जुकु, जोरु, मिगु, डाँडावाडा, हिमाली गाउँपालिकाका बिच्छ्या, नेटा, फैती र पाडी गाउँ उच्च जोखिममा रहेका छन् ।

जिल्ला विपद् प्रतिकार्य योजनाले बाढी पहिरो जस्ता विपद्को उच्च जोखिममा रहेका मध्ये करिब एक सय १५ गाउँ बस्तीहरु तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न पर्ने जनाएको छ । तर ती बस्तीहरु स्थानान्तरणका लागि हालसम्म कुनै पहल नहुँदा बर्षातको समयमा यहाँको जनजीवन प्रभावित बनेको छ भने बाढी पहिरोको त्रासले रातभर जाग्राम बस्न बाध्य छन् । यस तथ्यले जिल्लाका सबै स्थानीय तहहरु विपद्को उच्च जोखिममा छन् भने दर्जनौं बस्तीहरु बाढी पहिरोको चपेडामा परेको बुढिनन्दा नगरपालिका हिक्मत वडले बताएका छन् ।

बुढीगंगा नदीले बडीमालिका, बुढीगंगा, त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकाका सयौं परिवारको खेतीयोग्य जमिन कटान गरेर बगरमा परिणत गरेको छ भने दर्जनौं बस्तीहरु बाढीको उच्च जोखिममा रहेको स्थानीय दिपक बडुवालले बताए । विपद् जोखिम न्यूनीकरणका लागि केवल राहत र उद्धारमा सीमित नभई दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै जोखिमयुक्त बस्ती स्थानान्तरण, पहिरो नियन्त्रण, नदी व्यवस्थापन, व्यवस्थित सडक निर्माण, वन संरक्षण तथा प्रभावकारी पूर्वसूचना प्रणालीमा लगानी नगरेसम्म बाजुराले हरेक वर्ष उस्तै पीडा दोहोर्याइरहनुपर्ने अवस्था रहने सरोकारवालाहरु बताउँछन् ।

बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले बुढीगंगा नदीले वर्षेनी कटान गरेर खेतीयोग्य जमिन बगर भएको भन्दै बाम्का बजार समेत नदीमा मिसिने उच्च जोखिममा रहेको बताए । बाढी पहिरोको चपेटामा परेका नगरपालिकाका दर्जन बढी बस्तीहरु तत्काल स्थानान्तरण गर्नु पर्ने छ, नगर प्रमुख बानियाँ भन्छन्, “स्थानीय तहसँग धेरै ठुलो स्रोत साधन नहुँदा एकल प्रयासले विपद् न्यूनीकरण गर्न सम्भव छैन् तर सामान्य कुराहरु विपद् समितिमार्फत समाधान गरिरहेका छौं र ठुलो समस्या आइलाग्दा जिल्ला, विपद् प्राधिकरण जस्ता अन्य निकायसँग जोडिनु पर्ने हुन्छ ।”

विपद् प्रतिकार्य योजना २०८३ को तथ्यांकअनुसार जिल्लाभर २०७७ साल यता बाढी पहिरो जस्ता विपद्जन्य घटनामा परी ६२ जनाको मृत्यु भएको छ भने १ सय ८ जना घाइते भएका छन् । यस्तै सो अवधिमा बाढी पहिरो र अबिरल वर्षा जस्ता विपद्का कारण ७ सय २५ घरपरिवारमा पूर्ण रुपमा क्षति पुगेर विस्थापित हुनुका साथैं करिब एक हजार ७ सय २८ रोपनी खेतीयोग्य जमिन बाढीपहिरोले बगाएको छ भने करोडौंको अन्य भौतिक क्षति व्यर्होनु परेको तथ्यांकमा उल्लेख गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बाजुरा विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै बाढीपहिरो, भूकम्प, आगलागी जस्ता विपद्हरुले जुनसुकै बेला पनि ठुलो धनजनको क्षति पु¥याउन सक्ने बताए । उनले विपद्लाई पूर्ण रुपमा रोक्न नसकिए पनि सचेतना, पूर्वतयारी र व्यवस्थित प्रतिकार्य योजनाका माध्यमबाट यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न र अमूल्य मानव जीवनको रक्षा गर्न सकिने बताएका छन् । प्रमुख जिल्ला अधिकारी निरौलाले वर्षातमा आकस्मिक रुपमा आइपर्ने विपद्जन्य घटनाको रोकथाम तथा व्यवस्थापनमा केन्द्रीत हुनु पर्ने भन्दै बस्ती नै स्थानान्तरण गर्ने विषय सहज नभएको प्रतिक्रिया दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार