
काठमाडौं —पार्टीको केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित गर्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिमान राखेको छ । नेपालमा अहिलेसम्म कुनै पनि राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलले केन्द्रीय समितिमा आधा संख्यामा महिला निर्वाचित गर्न सकेका थिएनन् ।
रास्वपाले आफ्नो विधानमै ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित हुने गरी व्यवस्था गरेको थियो । तर निर्वाचन परिणाममा महिलाको प्रतिनिधित्व पुरुषभन्दा बढी हुन गयो । ९९ सय जना केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भएकोमा ५० जना महिला छन् । प्रादेशिक केन्द्रीय सदस्य २६ र राष्ट्रियतर्फ २४ जना गरी ५० महिला पार्टीको केन्द्रीय समितिमा पुगेका हुन् । ३३ प्रतिशतका लागि ३३ जना भए पुग्ने थियो ।
प्रादेशिक चुनावमा बाग्मती प्रदेशबाट पाँचैजना महिला निर्वाचित भए । यस्तै, कोशीबाट ४, मधेसबाट ४, गण्डकीबाट ३, लुम्बिनीबाट ४, कर्णालीबाट ४ र सुदुरपश्चिमबाट ३ जना महिलाले चुनाव जितेका थिए ।
राष्ट्रिय स्तरमा खुल्ला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा ९ जना महिला उम्मेदवारले जित हासिल गरे । खुल्लामा जित्ने महिला नेतृहरुमा सोविता गौतम, डा. तोसिमा कार्की, रञ्जु दर्शना, समीक्षा बास्कोटा, निशा डाँगी, इन्दिरा रानामगर, रिमा विश्वकर्मा, गीता चौधरी र लिमा अधिकारी रहेका छन् ।
रास्वपामा १५८ जनाको केन्द्रीय समिति रहने व्यवस्था छ । त्यसमध्ये ९९ जना निर्वाचनबाट चुनिन्छन् भने ५१ जना सभापतिले मनोनित गर्नेछन् । यस्तै, ७ प्रदेशका सभापतिहरु पदेन केन्द्रीय सदस्य हुन्छन् । १५८ जनामा एक तिहाई अनिवार्य महिला हुनुपर्ने विधानको व्यवस्था छ ।
यसका लागि ५३ जना महिला केन्द्रीय सदस्य हुनुपर्छ । अब सभापतिले मनोनीत गर्ने ५० जनामा ३ जना मात्र महिला राख्दा पनि ३३ प्रतिशत पुग्छ । तर, मनोनित महिलाको संख्या पनि उल्लेख्य हुने निश्चित छ ।
रास्वपाले पदाधिकारी तहमा पनि महिलालाई कोटा छुट्याएको छ । उपसभापतिमा महिला कोटाबाट सोविता गौतम र सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएका छन् । बाँकी पदाधिकारीहरुमा पुरुष नै निर्वाचित भए । यसरी महिलालालाई कोटा नै दिएर नेतृत्वमा राख्नुभन्दा प्रजातान्त्रिक तवरले नै समानताको आधारमा प्रतिस्पर्धा गर्न दिनु उचित हुने मत पनि उत्तिकै बलियो छ ।


