
सालै त्यो हुनगो अठार सयमै, एकहत्तरी सालको
आषाढै उनतीस त्यो शुभदिने, जन्मै भयो भानुको
भाषाको सुदिनै बन्यो सकल त्यो, साहित्य नेपालको
साँचो भानुसमान कान्ति छरने, ज्योति बल्यो ज्ञानको ।
घाँसीको लघु जीवनी अरतीले, पाए नयाँ चेतना
कीर्ती राख्न सदैव सत्य पथमा, जाग्यो ठुलो चाहना
बाँडे ती जल प्यासी ओठहरूमा, आशा जगाईकन
भावी जीवन त्यो समाज हितमा, सुम्पेर आफ्नो मन ।।
ज्ञानी भै रसपान ज्ञानगुणको, लोकमै गराई दिए
त्यो रामायण मुख्य अमृत झैँ, घर-घरै पुर्याइदिए
प्रश्नोत्तर कविता र काव्य सरिता, त्यो भक्तमाला अनि
बाले दीप बधूशिखा अझ अरू, आलोक छर्ने भनी ।।।
संस्कारै र चरित्र नीतिका कथा, पोखेर त्यो चेतना
बस्छन् ती मनमाझमा हेर सधैँ, सबका भर्दै सिर्जना
पुग्छन् यी शब्द जहाँ जन-जनमा, त्यहाँ सुगन्धै छरी
बाँच्नेछन् हृदयाकाशैभरि सदा, आनन्द रूपै भरी ।।।।


