बिहिबार, असार ३२, २०८३
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणीका चार विद्यालयमा समावेशी शौचालय निर्माण

त्रिवेणीका चार विद्यालयमा समावेशी शौचालय निर्माण

  • बिहिबार, असार ३२, २०८३
सेयर गर्नुहोस् :
त्रिवेणीका चार विद्यालयमा समावेशी शौचालय निर्माण

बाजुरा–बाजुराको त्रिवेणी नगरपालिकाका सामुदायिक विद्यालयहरुमा समावेशी (अपाङ्गमैत्री) शौचालय निर्माण गरिएको छ । एबिल इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र महिला विकास मञ्चद्धारा सञ्चालित सबल बालिका, सबल समुदाय (सबास) परियोजनाले स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा समुदायको समन्वय र सहकार्यमा निर्माण गरिएको हो ।

सामुदायिक विद्यालयमा अध्ययनरत सम्पूर्ण बालबालिकाहरुको सुरक्षित, सहज र सम्मानजनक सरसफाइ सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले विद्यालयमा समावेशी शौचालय निर्माण परियोजना संयोजक अशोक शाहले बताए । उनका अनुसार त्रिवेणी नगरपालिकामा रहेको रत्न मावि, पार्वती मावि, नवदुर्गा आवि र त्रिवेणी आविमा एक–एक गरी चार वटा समावेशी शौचालय निर्माण सम्पन्न भएको हो । यस्तै ८२ लाख ३६ हजार २३१ रुपैयाँ लागतमा बनेका समावेशी शौचालयबाट ७३६ छात्रछात्रा लाभान्वित भएको शाहले बताए ।

शौचालय निर्माणसँगै विद्यालयमा सरसफाइ, व्यक्तिगत सरसफाई, महिनावारी स्वच्छता तथा शौचालयको दिगो सञ्चालन र मर्मतसम्भार सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिएका छन्। यसबाट विद्यार्थी, शिक्षक तथा समुदायमा समावेशी सरसफाइको महत्वप्रति सकारात्मक चेतना अभिवृद्धि भएको परियोजनाले जनाएको छ ।

निर्माण व्यवसायीबाट निर्माण गरिएका शौचालयको नियमित सञ्चालन, सरसफाइ र मर्मत सम्भारमा विशेष ध्यान दिने प्रतिवद्धता विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकारले व्यक्त गरेका छन् । समुदायका सरोकारवालाहरूले पनि यस्तो पूर्वाधारले अपाङ्गता भएका छात्र छात्रा तथा शिक्षक शिक्षिकालाई समान अवसर प्रदान गर्दै सम्मानपूर्वक शौचालय प्रयोग गर्न सक्ने वातावरण सिर्जना गरेको बताएका छन्।

समावेशी शौचालय निर्माणले दिगो विकास लक्ष्य अन्तर्गत सबैका लागि सुरक्षित तथा समतामूलक खानेपानी, सरसफाइ र स्वच्छता सेवामा पहुँच सुनिश्चित गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । साथै, विद्यालयलाई समावेशी, सुरक्षित र बालमैत्री शिक्षण वातावरण बनाउन समेत यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार