शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भेनेजुएला भूकम्प : मृतकको संख्या १८८ पुग्यो

भेनेजुएला भूकम्प : मृतकको संख्या १८८ पुग्यो

  • शुक्रबार, असार १२, २०८३
सेयर गर्नुहोस् :
भेनेजुएला भूकम्प : मृतकको संख्या १८८ पुग्यो

भेनेजुएलाको भूकम्पमा परी कम्तिमा १८८ जनाको मृत्यु पुष्टि भएको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन् । अधिकारीहरूका अनुसार दुई सयभन्दा बढी मानिस अझै भग्नावशेषमा फसेको आशंका गरिएको छ । हजारौं मानिस सम्पर्कविहीन छन् । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समय अनुसार बुधबार बेलुका ४० सेकेण्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्प गएका थिए ।

भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको अवस्थालाई हेरेर सरकारले देशभर संकटकाल घोषणा गरेको छ । राजधानी कराकाससहितका विभिन्न ठाउँमा विमानस्थल बन्द छ । सडक यातायात पनि अवरुद्ध भएको छ । बिजुली, खानेपानी, सन्चार जस्ता न्यूनतम सुविधाबाट पनि स्थानीय बन्चित भएका छन् । अमेरिकी भौगर्भिक सर्वेका अनुसार पहिलो भूकम्प क्यारिबियन तटस्थित मोरोन शहरको पश्चिम क्षेत्रमा २२ किलोमिटर गहिराइमा गएको थियो । लगत्तै ७.५ रेक्टर स्केलको दोस्रो भूकम्प १० किलोमिटर गहिराइमा आएको थियो ।

त्यस दिन भेनेजुएलामा राष्ट्रिय बिदा परेकाले धेरै मानिस घरमै रहेका बेला भूकम्प आएको थियो । भूकम्पको धक्का देशभर महसुस गरिएको थियो भने छिमेकी कोलम्बियाको राजधानी बोगाटासम्म पनि कम्पन महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

लगातार दुई ठूला भूकम्प आउँदा क्षति व्यापक भएको विज्ञहरूले बताएका छन् । अधिकारीहरुका अनुसार राजधानी काराकासको उत्तरमा रहेको तटीय क्षेत्र ला ग्वाइरामा सबैभन्दा बढी क्षति पुगेको छ । त्यहाँ रहेको देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेपछि बन्द गरिएको छ, जसका कारण उद्धार र राहत कार्य प्रभावित भएको छ ।

ला ग्वाइरामा एक आमाले आफ्ना ३ र १० वर्षका दुई सन्तानको शव कम्बलमा बोकेर रोइरहेको दृश्यले स्थानीयलाई स्तब्ध बनाएको थियो ।
अधिकारीहरुले खोज तथा उद्धार कार्य जारी रहेको जनाएका छन् । कतिपय भूकम्प पीडित आफैं भग्नावशेष हटाएर आफन्तको खोजीमा जुटेका छन् । राजधानी बाहिर सरकारी उद्धार टोलीको उपस्थिति निकै न्यून देखिएको स्थानीयहरूले बताएका छन् । धेरै परिवार आफन्तको खोजीमा सडकमा भौतारिरहेका छन्।

टेलिभिजन च्यानलहरुले भग्नावशेषबाट जीवित मानिसहरूको उद्धार गरिएका दृश्य र आफन्तको छटपटाहटको हृदयविदारक दृष्य प्रसारण गरिरहेका छन् । ला ग्वाइरामा एक आमाले आफ्ना ३ र १० वर्षका दुई सन्तानको शव कम्बलमा बोकेर रोइरहेको दृश्यले स्थानीयलाई स्तब्ध बनाएको थियो ।

उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग, अमेरिकाले अस्थायी रुपमा प्रतिबन्ध हटायो यसैबीच कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार नै देशभर संकटकाल घोषणा गर्दै उद्धार टोली परिचालन गरिएको जानकारी दिएकी छन् । अस्पताल र घर पुनर्निर्माणका लागि २० करोड अमेरिकी डलर बराबरको कोष स्थापना गर्ने घोषणा पनि उनले गरिन् ।

उनले निजी क्षेत्रलाई पनि भारी निर्माण उपकरण उद्धार कार्यमा उपलब्ध गराउन आग्रह गरेकी छन् । उनका अनुसार पहिलो विदेशी उद्धार टोली डोमिनिकन गणतन्त्रबाट पुग्न लागेको छ भने अन्य देशका टोलीहरू पनि आउने क्रममा छन् । अमेरिका, मेक्सिको, ब्राजिल, कतार, स्पेन, पोर्चुगल र क्यानडालगायत देशहरूले राहत सामग्री र उद्धार टोली भेनेजुएला पठाउने घोषणा गरेका छन् ।

विभिन्न देशबाट चिकित्सकीय सामग्री, खोजीका लागि तालिमप्राप्त कुकुर, पानी शुद्धीकरण उपकरण, विमान तथा ड्रोन भेनेजुएला पठाउने तयारी भइरहेको छ । भूकम्पपछि राहत तथा उद्धारलाई सहज बनाउन अमेरिकाले भेनेजुएलामाथि लगाइएका केही आर्थिक प्रतिबन्ध अस्थायी रूपमा अक्टोबर २३ सम्मका लागि खुकुलो बनाएको छ ।

यसबाट राहतसँग सम्बन्धित वित्तीय कारोबार गर्न सहज हुने अमेरिकी ट्रेजरी विभागले जनाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कार्यवाहक राष्ट्रपति रोड्रिगेजसँग टेलिफोनमा कुराकानी गर्दै अमेरिका तत्काल खोज तथा उद्धार टोली, चिकित्सकीय सामग्री र अन्य सहायता पठाइरहेको बताएका छन् ।

मुख्य विमानस्थल बन्द भएकाले केही राहत सामग्री पुर्‍याउन चुनौती रहेको उनले स्वीकार गरे । आफन्तको खोजीमा परिवारहरूले टाँस्न थाले फोटोसहितको सूचना भूकम्पपछि राजधानी काराकासका केही क्षेत्रमा विद्युत् र मोबाइल सेवा अवरुद्ध भएको छ । मेट्रो सेवा स्थगित गरिएको छ भने ग्यास आपूर्ति पनि रोकिएको छ ।

विद्यालयहरू केही दिनका लागि बन्द गरिएका छन् र केही विद्यालय भवनलाई अस्थायी आश्रयस्थल तथा राहत संकलन केन्द्रका रूपमा प्रयोग गरिने सरकारले जनाएको छ । आफन्तको खोजीमा परिवारहरूले फोटोसहितका सूचना टाँस्न थालेका छन् भने विदेशमा रहेका भेनेजुएलीहरू आफ्ना परिवारसँग सम्पर्क गर्न संघर्ष गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार