• होमपेज
  • अर्थ/वाणिज्य
  • त्रिवेणी नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

त्रिवेणी नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता

  • सोमवार, असार ८, २०८३
सेयर गर्नुहोस् :
त्रिवेणी नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

बाजुरा— त्रिवेणी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, सुशासन र रोजगारी सृजनालाई मुख्य प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभाको १९औँ अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा “स्वस्थ नागरिक, गुणस्तरीय शिक्षा, सबल पूर्वाधार, समावेशी विकास र रोजगारी सृजना– समृद्ध र आत्मनिर्भर नगर निर्माण हाम्रो लक्ष्य” भन्ने मूल नारासहित बहुआयामिक विकासका कार्यक्रम अघि सारिएको हो। नगरप्रमुखले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संविधान, स्थानीय सरकार सञ्चालन ऐन, प्रदेश तथा संघीय सरकारका नीतिगत मार्गदर्शन, वडा तह र विषयगत समितिबाट प्राप्त सुझावका आधारमा तयार गरिएको जनाइएको छ।
कृषि र पशुपालनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण
नगरपालिकाले स्थानीय उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषि तथा पशुपालनको व्यावसायीकरणलाई विशेष प्राथमिकता दिएको छ। आधुनिक कृषि प्रविधि, मल, बिउ र स्थानीय हावापानी सुहाउँदो बालीको प्रवद्र्धनमार्फत कृषिमा आत्मनिर्भरता बढाउने नीति लिइएको छ। कृषिजन्य वस्तुको बजारीकरणका लागि संकलन केन्द्र र हाटबजार निर्माण गर्ने, नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, आकस्मिक बाली उपचार सेवा सञ्चालन र रासायनिक मलमा अनुदान उपलब्ध गराउने कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ। त्यसैगरी, बाख्रापालन, गाई–भैंसीपालन, कुखुरापालन लगायत पशुपालन व्यवसायलाई प्रोत्साहन गर्ने, दूध डेरी स्थापना, व्यावसायिक बाख्रापालन तालिम, पशु स्वास्थ्य शिविर तथा निःशुल्क औषधि वितरणका कार्यक्रम सञ्चालन गर्ने नीति पनि लिइएको छ। महिला, दलित, बालबालिका तथा विपन्न वर्गलाई कृषि र सीप विकासमार्फत आयआर्जनमा जोड्ने लक्ष्य नगरपालिकाले राखेको छ।

शिक्षामा गुणस्तर, प्रविधि र पूर्वाधार सुधार

शिक्षा क्षेत्रतर्फ नगरपालिकाले सामुदायिक विद्यालयको भौतिक संरचना सुदृढीकरण, सबै विद्यालयमा गुणस्तरीय खानेपानीको व्यवस्था, शैक्षिक सामग्रीको उपलब्धता, प्रविधिको प्रयोग र शिक्षक क्षमता विकासलाई प्राथमिकतामा राखेको छ। विद्यालय दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनको उपयोग गर्ने, विभिन्न क्षेत्रका प्राविधिक तथा सीपमूलक तालिम सञ्चालन गर्ने, विद्यालय व्यवस्थापनलाई थप व्यवस्थित बनाउने तथा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई पुरस्कृत गर्ने नीति पनि नगरपालिकाले लिएको छ। त्यस्तै, आधुनिक खेलकुद रंगशाला स्थापनाका लागि पहल गर्ने, वार्षिक रूपमा मेयरकप र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने, विद्यालयस्तरमा खेलकुद कार्यक्रम विस्तार गर्ने तथा नेपाल स्काउट, जुनियर रेडक्रस र युवा रेडक्रस सर्कलजस्ता गतिविधिलाई प्रवद्र्धन गर्ने योजना सार्वजनिक गरिएको छ।

स्वास्थ्य सेवामा पहुँच विस्तार र निःशुल्क शिविर
स्वास्थ्य क्षेत्रतर्फ आधारभूत स्वास्थ्य सेवा प्रभावकारी बनाउने, स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार सुधार गर्ने, औषधिको अभाव हुन नदिने तथा जटिल गर्भावस्था र सुत्केरी अवस्थाका लागि रिफरल सेवालाई निरन्तरता दिने नीति अघि सारिएको छ। नगरपालिकाले आँखा, दाँत, पाठेघर तथा अन्य रोगको परीक्षण र उपचारका लागि निःशुल्क स्वास्थ्य शिविर, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि विशेष स्वास्थ्य शिविर, मानसिक स्वास्थ्य तथा डिप्रेसनसम्बन्धी जनचेतनामूलक कार्यक्रम, तथा विपन्न परिवारका लागि औषधि उपचार सहयोग कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। त्यसैगरी, नगरप्रमुख स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने, निजी अस्पतालसँग सहकार्य गरेर सेवा विस्तार गर्ने, नर्सिङ तथा अन्य रोग पहिचानका लागि अभियान सञ्चालन गर्ने योजना पनि समेटिएको छ।

खानेपानी, सडक र पूर्वाधार विकासमा जोड
त्रिवेणी नगरपालिकाले ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिँदै सबै घरधुरीमा खानेपानीको पहुँच विस्तार गर्ने नीति लिएको छ। लिफ्ट खानेपानी आयोजनाका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरी संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ। वडा कार्यालय भवन निर्माण, १५ शैय्याको नगर अस्पताल स्थापना, सबै वडा कार्यालयसम्म सडक सञ्जाल विस्तार, मुख्य सडकहरूको स्तरोन्नति, नयाँ पैदलमार्ग निर्माण तथा पुराना मार्ग सुधारका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश छन्। यससँगै स्थानीय बजार, टोल तथा सडकमा ढल व्यवस्थापन, सरसफाइ कार्यक्रम सञ्चालन, उपभोक्ता समितिलाई तालिम, प्राविधिक जनशक्तिको क्षमता विकास तथा भवन आचारसंहिता कार्यान्वयनमा समेत जोड दिइएको छ।

युवालाई रोजगारी, सीप र उद्यमतर्फ उन्मुख गर्ने योजना
नगरपालिकाले बेरोजगार युवालाई रोजगारी र स्वरोजगारसँग जोड्ने नीति अघि सारेको छ। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतामा आबद्ध गर्ने, विदेश जान चाहने श्रमिकका लागि वित्तीय साक्षरता र सीपमूलक तालिम सञ्चालन गर्ने, स्थानीय स्रोत र वस्तुको नक्सांकन गरी घरेलु तथा साना उद्योग स्थापनामा प्रोत्साहन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ। त्यस्तै, श्रम बैंक/रोजगार सेवा केन्द्रलाई श्रम सूचना बैंकका रूपमा विकास गर्ने, नागरिकका सीपको पहिचान र प्रमाणीकरण गर्ने, सीपमा आधारित तालिम सञ्चालन गर्ने तथा प्रविधि सहयोग र नवप्रवर्तन कार्यक्रमलाई प्रोत्साहन गर्ने नीति पनि लिइएको छ।

सुशासन, पर्यटन र समावेशी विकासमा प्रतिबद्धता
नीति तथा कार्यक्रममा सुशासन, पारदर्शिता र सेवा प्रवाहलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने, धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, विकास र प्रवद्र्धन गर्ने, महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकका हकहित संरक्षण तथा सशक्तीकरणमा जोड दिइएको छ। नगरपालिकाले पोषण, खाद्य सुरक्षा, बाल संरक्षण, किशोरी आत्मरक्षा तालिम, विद्यालय बाहिर रहेका बालबालिकालाई पुनः शिक्षामा ल्याउने तथा विपन्न र जोखिममा रहेका समूहका लागि संरक्षणमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। त्रिवेणी नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीलाई विकासको मूल आधार मानेर समृद्ध र आत्मनिर्भर नगर निर्माणको लक्ष्य अघि सारेको छ। अब यी नीति तथा कार्यक्रम आगामी बजेट र कार्यान्वयनमार्फत कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् भन्नेमा नगरवासीको चासो केन्द्रित रहनेछ ।

चर्चामा

सम्बन्धित समाचार