
प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतीय सीमा अतिक्रमण गरेको हुन सक्ने अभिव्यक्ति दिएको चर्चाबिच पश्चिम नवलपरासीको सुस्तामा निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवरोध गरेको छ । नारायणी नदीको कटानबाट सुस्ताको जमिन जोगाउने उद्देश्यले सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, भरतपुरले तटबन्ध निर्माणको काम गरिरहँदा भारतीय एसएसबीले सीमा क्षेत्रमा भौतिक संरचना निर्माण नगर्न भनेको हो ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पोषणराज भण्डारीका अनुसार आइतबार नेपाल सशस्त्र प्रहरी बल र भारतीय एसएसबीको संयुक्त गस्तीका क्रममा उक्त विषय उठाइएको थियो । भारतीय पक्षले सीमा स्तम्भ रहेको तथा दुवै देशले आफ्नो दाबी गर्ने क्षेत्र भएकाले तत्काल भौतिक संरचना निर्माण नगर्न मौखिक आग्रह गरेको बताए ।
भण्डारीका अनुसार उक्त जानकारी प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । हाल सुस्ता गाउँपालिका–५ अन्तर्गत पर्ने क्षेत्रमा करिब १ किलोमिटर तटबन्ध निर्माणको काम भइरहेको छ । उक्त खण्डमा निर्माण कार्य जारी रहने भए पनि त्यससँगै जोडिएको पूर्वतर्फको १३२ मिटर क्षेत्रमा भने भारतीय पक्षले माथिल्लो तहको सहमति प्राप्त गरेर मात्र काम अघि बढाउन आग्रह गरेको छ ।
गत फागुनदेखि सुरु भएको १ किलोमिटर तटबन्ध निर्माणको काम करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ । त्यस्तै, थप १३२ मिटर क्षेत्रमा तटबन्ध निर्माणका लागि पनि ठेक्का सम्झौता भइसकेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले १ किलोमिटर क्षेत्रमा काम जारी रहने तर १३२ मिटर खण्डमा तत्काल भौतिक संरचना निर्माण नगर्न भारतीय पक्षले आग्रह गरेको प्रस्टाए । सुस्तामा नेपाली नागरिकहरूको बसोबास र खेतीयोग्य जमिन रहेकाले नारायणी नदीको बाढी तथा कटानबाट स्थानीय बासिन्दाले प्रत्यक्ष क्षति बेहोर्दै आएका छन् ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, भरतपुरले करिब ८ करोड रुपैयाँ र ६ करोड रुपैयाँका दुई छुट्टाछुट्टै ठेक्कामार्फत तटबन्ध निर्माणको काम अघि बढाएको थियो । १ किलोमिटर र १३२ मिटर खण्डका लागि अलग–अलग ठेक्का सम्झौता गरिएको तथा बजेट निकासासमेत भइसकेको जनाइएको छ ।
स्थानीय बासिन्दाहरूले निर्माण भइरहेको तथा निर्माण हुन लागेको तटबन्ध सुस्तावासीकै जग्गामा रहेको दाबी गर्दै भारतीय एसएसबीको अवरोधप्रति असन्तुष्टि जनाएका छन् । सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले सुस्ता अत्यन्त संवेदनशील विषय भएको उल्लेख गर्दै राज्यको स्पष्ट नीति र प्रभावकारी पहल नहुँदा बेला–बेलामा स्थानीयवासीले विभिन्न समस्या र सास्ती बेहोर्नुपरेको बताए ।
उनले प्रधानमन्त्रीको संसद्मा आएको अभिव्यक्तिपछि सुस्तामा भारतीय प्रहरीले तटबन्ध निर्माण रोक्न आग्रह गरेको घटना संयोगवश भएको हो वा प्राविधिक कारणले भएको हो भन्ने विषय बुझ्न कठिन रहेको बताए ।
गौतमले सुस्तामा रोकिएको तटबन्ध निर्माण कार्य पुनः सुचारु गर्न सरकार र सम्बन्धित निकायले आवश्यक पहल गरी उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिए । उनका अनुसार नारायणी नदीको कटानबाट स्थानीय बासिन्दाको भूमि र बस्ती जोखिममा पर्ने भएकाले तटबन्ध निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन आवश्यक रहेको रातोपाटीलाई बताए । रातोपाटीबाट शाभार


