बिहिबार, असार ४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बडीमालिका नगरपालिकामा केयर प्रोफाइल निर्माण सम्बन्धी परामर्श बैठक

बडीमालिका नगरपालिकामा केयर प्रोफाइल निर्माण सम्बन्धी परामर्श बैठक

  • बिहिबार, असार ४, २०८३
सेयर गर्नुहोस् :
बडीमालिका नगरपालिकामा केयर प्रोफाइल निर्माण सम्बन्धी परामर्श बैठक

बाजुरा–बाजुराको बडीमालिका नगरपालिकामा केयर प्रोफाइल निर्माण सम्बन्धी परामर्श बैठक सम्पन्न भएको छ । युरोपियन युनियन र संयुक्त राष्ट्र संघको सहकार्य, बडीमालिका नगरपालिकाको समन्वय तथा सामाजिक सुरक्षा तथा नागरिक समाज सञ्जाल र निड्स नेपालको संयुक्त आयोजनामा केयर प्रोफाइल निर्माण सम्बन्धी परामर्श बैठक गरिएको हो ।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरभित्रका औपचारिक, अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरुको हेरचाह, महिला, बालबालिका, अपांगता, सिमान्तकृत समुदायका व्यक्तिहरुको हेरचाह तथा अवस्थाको बारेमा जानकारी गराइएको थियो । यस्तै नगरभित्र रहेका हेरचाह सम्बन्धी जिम्मेवारी, चुनौती, अवसर तथा आवश्यकताहरूको पहिचान गर्दै केयर प्रोफाइल निर्माणका लागि आवश्यक तथ्यांक र सुझाव संकलन गर्ने उद्देश्यका साथ बैठक सञ्चालन गरिएको हो ।

नगरपालिकाभित्रको केयर प्रोफाइल निर्माण गरी सकेपछि पालिकालाई हस्तान्तरण गरिने र उक्त प्रोफाइलका आधारमा नीति, कार्यविधि तथा योजना तर्जूमा गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । परामर्श बैठकमा केयर अर्थतन्त्रको अवधारणा, स्थानीय तहको भूमिका, सामाजिक सुरक्षा प्रणालीसँग यसको सम्बन्ध तथा केयरमैत्री योजना निर्माणका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले नगरपालिकाले आगामी योजना तथा बजेट निर्माण प्रक्रियामा केयरसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए। आयोजक संस्थाहरूका अनुसार केयर प्रोफाइलले नगर क्षेत्रमा हेरचाहसम्बन्धी कार्यको अवस्था, त्यसमा संलग्न जनशक्ति, सेवा पहुँच, सामाजिक सुरक्षा तथा लैङ्गिक समानतासँग सम्बन्धित पक्षहरूको विस्तृत अध्ययन प्रस्तुत गर्नेछ । यसले स्थानीय सरकारलाई तथ्य र तथ्यांकमा आधारित नीति तथा कार्यक्रम निर्माण गर्न मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

बडीमालिकाका नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सहजीकरण तपराज जोशीले गरेका थिए । यस्तै कार्यक्रममा नगर उपप्रमुख नन्दा थापा, प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशी, वडा अध्यक्ष, विभिन्न शाखा प्रमुख, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार