
बाजुरा–बाजुराको बुढीगंगा नगरपालिकामा एक दिने पालिका स्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नगरपालिकाको समन्वय, पीसविन नेपालको आयोजनामा तथा गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा शैक्षिक कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।
स्थानीय शिक्षा सम्बन्धी मुद्धा, चुनौती र अवसरहरुको पहिचान तथा विश्लेषण, अभिभावकहरुको अर्थपूर्ण सहभागीता, बालमैत्री तथा गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि नवीन विचार र सुझाव संकलन गर्ने लगायतका उद्देश्यका साथ नगरपालिकामा शैक्षिक बहसका रुपमा कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।
नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा पालिकाभित्रका विद्यालयहरुको शैक्षिक अवस्था, प्रमुख आवश्यकता, समस्याका बारेमा छलफल गरी भावि योजना निर्माणमा सहयोग पुग्ने विश्वाससहित शैक्षिक कार्यशाला गोष्ठीको आयोजना गरिएको जनाएको छ । कार्यक्रममा प्रशिक्षक मिन बहादुर शाहीले कुशल विद्यालय व्यवस्थापन, प्रधानाध्यापकको प्रभावकारी नेतृत्व क्षमता, शिक्षक उत्प्रेरणा, विद्यार्थी आकर्षण, अभिभावक शिक्षा लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
गोष्ठीमा सहभागी अभिभावक तथा विव्यसका प्रतिनिधिहरुले विद्यालयमा शैक्षिक गुणस्तर सुधार, विद्यार्थीहरुमा नैतिक शिक्षा र अनुशासित एवम् क्षमतावान् बनाउन तल्लो कक्षाबाट नै प्रयत्न गर्नु पर्नेमा जोड दिएका छन् । यस्तै सहभागी विद्यालयका प्रधानाध्यापकहरुले पछिल्लो समय मोबाइलको दुरुपयोग, विद्यार्थीप्रति अभिभावकहरुको चासो कम हुँदा पनि विद्यार्थीहरु पढाईमा ध्यान नदिने तथा शिक्षकहरु घरपायक हुँदा विद्यालयप्रति भन्दा घरकै गतिविधिमा बढी चासो दिँदा उपलब्धि वृद्धिमा कमी आएको बताएका छन् । त्यस्तै सामुदायिक विद्यालयप्रति बढ्दो अविश्वास, विद्यार्थी सङ्ख्यामा आएको कमी, शैक्षिक उपलब्धिमा देखिएको असमानता तथा प्रविधिमैत्री शिक्षाको आवश्यकता जस्ता विषयमा समेत छलफल गरिएको थियो । सहभागीहरूले गुणस्तरीय शिक्षाका लागि विद्यालयको भौतिक पूर्वाधार मात्र पर्याप्त नहुने, शिक्षकको दक्षता, अभिभावकको सहभागिता वृद्धि गर्न अभिभावक शिक्षा र स्थानीय सरकारको निरन्तर लगानी र अनुगमन पनि उत्तिकै आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
शैक्षिक कार्यशाला गोष्ठीमा बोल्दै नगर प्रमुख रामबहादुर बानियाँले पछिल्लो समय अभिभावक शिक्षा नै कमी हुँदा केही समस्या देखिएको बताए । उनले शिक्षामा सिकाई गुणस्तर सुधारका लागि नगरपालिकाले हरेक प्रयत्न र लगानी गरिरहेको भन्दै पढ्दै कमाउँदै कार्यक्रमका रुपमा व्यवहारिक एवम् जीवनउपयोगी शिक्षामा जोड दिइएको बताए । यस्तै अहिले नगरभित्रका विद्यालयमा सिकाई उपलब्धि कम भएको भनेर विभिन्न टिकाटिप्पणी भइरहेकोले हाल पालिकामा एसईईमा १४ प्रतिशत नतिजा रहेको उल्लेख गर्दै जिल्लाभरमा यो नै वास्तविक नतिजा भएको नगर प्रमुख बानियाँले बताए । उनले विालयमा शैक्षिक गुणस्तर सुधार तथा सिकाई उपलब्धि वृद्धि गर्न योजना निर्माण, शिक्षक एवम् प्रधानाध्यापकको क्षमता विकास तालिम सञ्चालन लगायतका थुप्रै गतिविधि गरे पनि अपेक्षाअनुसार सफल हुन नसकेको बताए ।
नगर प्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा सञ्चालन भएको शैक्षिक कार्यशाला गोष्ठीमा वडा अध्यक्ष, प्रशिक्षक मिन शाही, विभिन्न विद्यालयका प्रधानाध्यापक, विव्यस अध्यक्ष, अभिभावक लगायत सहभागी थिए । नगरपालिकाको सभाहलमा सञ्चालन भएको शैक्षिक कार्यशाला गोष्ठीको सञ्चालन पीसविन नेपालको एकिकृत सामुदायिक विकास परियोजनाका कार्यक्रम अधिकृत भानसिंह ऐडीले गरेका हुन् ।


