• होमपेज
  • विचार/ब्लग
  • “जा-पान, खा-पान र कमाउ-मान”

“जा-पान, खा-पान र कमाउ-मान”

'न' प्रत्ययभित्र लुकेको नेपालीको जापान सङ्घर्ष

  • मङ्लबार, असार २, २०८३
सेयर गर्नुहोस् :
“जा-पान, खा-पान र कमाउ-मान”

पछिल्ला दिनहरूमा नेपाली युवाहरूको सपनाको एउटा साझा गन्तव्य बनेको छ— जापान। कोही सुनौलो भविष्य खोज्दै विद्यार्थी भिसामा, कोही सीपमूलक रोजगार (SSW) मा, त कोही व्यवसाय र आश्रित (Dependent) भिसामा यहाँ भित्रिरहेका छन्। हाल करिब ३ लाखभन्दा बढी नेपालीहरूको बसोबास रहेको जापानमा दिनहुँ नयाँ अनुहारहरू थपिने क्रम जारी नै छ।
संसारकै उत्कृष्ट अनुशासन, अत्याधुनिक विज्ञान-प्रविधि र बलियो संस्कार-संस्कृतिको पहिचान बनाएको ‘निहोन्’ (जापान) जति बाहिरबाट हेर्दा चम्किलो देखिन्छ, यसको भित्री यथार्थ र सङ्घर्षको कथा भने निकै फरक छ।
बढ्दो महँगी र वर्षौँदेखि यथास्थितिमा रहेको आम्दानी (Salary) बीच तालमेल मिलाउन स्वयं जापानीहरूलाई त धौ-धौ परिरहेको छ भने, भाषा र संस्कृति सिक्दै गरेका नेपाली जस्ता विदेशीहरूलाई अझ गाह्रो हुनु स्वाभाविकै हो। अझ त्यसमाथि विद्यार्थीहरूको जीवन त झन् निकै कष्टकर छ।
१० देखि १५ लाख रुपैयाँ खर्चेर किनेको जापानको टिकट, हप्तामा २८ घण्टा मात्र काम गर्न पाउने कानुनी नियम, भाषा विद्यालय (Language School) को चर्को शुल्क, आफ्नो र नेपालमा रहेको परिवारको खर्च व्यवस्थापन— यी सबै कुराको सन्तुलन मिलाउँदा-मिलाउँदै यहाँका विद्यार्थीहरू ‘पान टोक्दै मान कमाउन’ दिनरात दौडिरहेका भेटिन्छन्। सरकारको पछिल्लो कडा वैदेशिक रोजगार नीतिका कारण पनि अहिले मन खोलेर ‘मान’ (१० हजार येनको जापानी नोट) कमाउन निकै सकस परिरहेको छ।
जापानका व्यस्त रेलवे स्टेसनहरूमा बिहान र बेलुका एउटा साझा दृश्य देखिन्छ— नेपाली र विदेशी युवाहरू एक हातमा ‘पान’ (पाउरोटी वा बेकरीका परिकार) र अर्को हातमा कफी वा ‘नोमिमोनो’ (पेय पदार्थ) बोकेर कुदिरहेका हुन्छन्।
वास्तवमा, जापानको नेपाली दैनिकीलाई हेर्दा लाग्छ— यहाँको जीवनचक्र नै ‘जा-पान (जापान जाने), खा-पान (पाउरोटी खाने) र कमाउ-मान (येन कमाउने)’ को एउटा अन्तहीन शृङ्खलामा घुमिरहेको छ।
समय यति बलवान् र गतिवान् छ कि घरमा आरामले खाना पकाएर वा टेबलमा बसेर खान पाउनु यहाँ एउटा विलासिता जस्तै बन्छ। उपलब्ध भएको हरेक मिनेटलाई काम र पैसामा रूपान्तरण गर्ने धुनमा नेपालीहरू आफ्नो भोक र निन्द्रालाई ‘पान’ र कफीको भरमा टारेर कार्यस्थलतिर लम्किरहेका हुन्छन्।
जापानी भाषा र यहाँको संस्कृतिमा एउटा रोचक पक्ष छ— यहाँका धेरैजसो आवश्यक, महत्वपूर्ण र दैनिक जीवनमा सधैँ प्रयोग हुने शब्दहरूको अन्त्य ‘न’ (ん) प्रत्ययबाट हुन्छ। मानौँ, सिङ्गो जापान नै यही ‘न’ को वरिपरि घुमिरहेको छ:
• पान (Pan): बिहानको हतारो टार्ने मुख्य सहारा (पाउरोटी)।
• मान (Man): जसका लागि यति धेरै दुःख गरिँदै छ (१० हजार येनको नोट)।
• जिकान (Jikan): समय, जसको यहाँ पैसाभन्दा बढी मूल्य छ। यहाँको जीवन ‘जिकान’ को कडा अनुशासनमा चल्छ।
• रामेन (Ramen): दिनभरिको थकाइपछि पाइने तातो र स्वादिलो जापानी नुडल्स, जुन नेपालीहरूको प्रिय खाना बनिसकेको छ।
• सान (San): नेपालमा ‘जी’ भनेर आदर गरे जस्तै, यहाँ मानिसको नाम पछाडि ‘सान’ लगाइन्छ (जस्तै: राम-सान)।
• च्यान (Chan): ससाना बच्चाहरू वा युवतीहरूलाई माया गरेर बोलाइने सम्बोधन।
• तेन्इन् (Ten-in): सुविधा पसल (कन्भिनियन्स स्टोर) का ‘स्टाफ’। जापान छिर्ने बित्तिकै धेरैजसो नेपाली युवाहरू यही ‘तेन्इन्’ बनेर आफ्नो यात्रा सुरु गर्छन्।
• शिनकान्सेन (Shinkansen): जापानको बुलेट ट्रेन। यहाँको जीवनको गति पनि ठ्याक्कै यही ‘शिनकान्सेन’ जस्तै तीव्र र समयको पक्का छ।
• क्यान (Can): दिनभरिको थकाइ मेट्न समाइने बियर वा पेय पदार्थका बट्टाहरू।
काम सक्काउने र ‘क्यान’ ठोक्काउने (बियर खोल्ने) यहाँका धेरैजसोको दैनिकी जस्तै बनिसकेको छ। दिनभरिको शारीरिक र मानसिक थकाइ मेट्न वा साथीभाइको सङ्गतमा ‘क्यान’ को सहारा लिने सोच त धेरैको हुन्छ, तर यही ‘क्यान’ सँगको बढ्दो सामीप्यता बिस्तारै आदत र खर्चको माध्यम बनिरहेको हुन्छ।
जापानमा एउटा क्यान बियरको मूल्य सामान्य लागे पनि महिनाभरिको हिसाब गर्दा र व्यस्त ‘जिकान’ (समय) को व्यवस्थापन नमिल्दा यसले एउटा ठुलै ‘मान’ (हजारौँ येन) निलिसकेको हुन्छ। त्यसैले, यदि स्वास्थ्य र गोजी दुवैलाई जोगाउने हो भने ‘क्यान’ सँगको सामीप्यतालाई अलिकति घटाउनु नै बुद्धिमानी हुन्छ। ‘क्यान’ सँगको दूरी जति घट्छ, दुःख गरेर कमाएको ‘मान’ को बचत र शरीरको स्वास्थ्य उति नै जोगिन्छ, जसले अन्ततः प्रवासी जीवनको जगलाई बलियो बनाउँछ।
सङ्घर्ष र व्यस्तताका बीच जापान खानेकुराका शौखिनहरूका लागि एउटा स्वर्ग पनि हो। यहाँ खाजा र खानाका परिकारहरूको विविधता यति धेरै छ कि यदि कसैले ‘म दिनको एउटा मात्र नयाँ स्वादको परिकार खान्छु’ भन्यो भने पनि सायद १० औँ वर्षसम्म कुनै स्वाद दोहोरिँदैन होला।
जापान बेकिङ इन्स्टिच्युट (JBI) र कृषि, वन तथा मत्स्यपालन मन्त्रालय (MAFF) को आधिकारिक वर्गीकरण अनुसार यहाँ पाइने ‘कासी-पान’ (गुलियो, क्रिम वा सिमीको पेस्ट भरिएका अन्पान र मेलनपान), ‘सोउजाइ-पान’ (किमा, करे वा याकिसोबा नुडल्स भरिएका नुनिला पान) र सदाबहार दुधिलो ‘Structural Shoku-pan’ ले जापानको बेकरी उद्योगलाई संसारकै विशिष्ट बनाएका छन्।
त्यस्तै, परम्परागत जापानी फास्टफुड मानिने ‘ओनिगिरी’ (भातको डल्ला) लाई पनि मुख्य गरी तीन वर्गमा विभाजन गरिएको पाइन्छ— समुद्री लेउले बेरिएको पारम्परिक त्रिकोणात्मक (Sankaku), बक्स खानामा प्रयोग हुने गोलाकार (Tawara) र सोयु ससले सेकेको स्वादिलो याकि-ओनिगिरी। चिसो मौसममा वा कामपछिको भोक मेटाउन थरीथरीका स्वादमा पाइने तातो ‘रामेन’ (Ramen) र ओनिगिरीको संयोजनले जापानको व्यस्त नेपाली दैनिकीलाई सस्तो, छिटो र पोसिलो ब्याकअप दिइरहेका छन्।
हुन त ‘जा-पान, खा-पान र कमाउ-मान’ को यो चक्र निकै व्यस्त र चुनौतीपूर्ण छ, तर यो सङ्घर्ष केवल गुनासोमा मात्र सीमित छैन। यही कडा मिहिनेत र ‘जिकान’ (समय) को कदर गर्ने बानीले नेपालीहरूलाई स्वावलम्बी, समयको पक्का र अनुशासित बन्न सिकाएको छ। जापानीहरूको ‘इन्तोकु’ (कसैले नदेखे पनि आफ्नो काम इमानदारीपूर्वक गर्ने संस्कार) र ‘ग्यान्बाने’ (भित्रैदेखि मिहिनेत गर्ने ऊर्जा) लाई आत्मसात् गर्दै नेपाली युवाहरूले जापानी कार्यक्षेत्रमा आफ्नो इमानदारिताको अमिट छाप छाडिरहेका छन्।
आज ‘पान’ र ‘रामेन’ खाँदै सुरु भएको एउटा सामान्य विद्यार्थी वा श्रमिकको यात्रा भोलि देशका लागि आवश्यक दक्ष जनशक्ति, उद्यमी वा प्रविधिमैत्री नागरिक बन्ने मार्गचित्र पनि हो। यहाँ सिकेको सीप, उच्च कार्यसंस्कृति र आर्जन गरेको ‘मान’ ले भोलि आफ्नै मातृभूमिको आर्थिक र वैचारिक क्षितिजलाई उज्यालो बनाउन ठुलो मद्दत गर्नेछ। त्यसैले, जापानको यो सङ्घर्ष केवल डलर वा येनको दौड मात्र होइन, भविष्यको सुनौलो ‘शान’ र समृद्धिको एउटा बलियो जग पनि हो।

चर्चामा

सम्बन्धित समाचार