
भनिन्छ, सङ्घर्षको जगमा उभिएर प्राप्त भएको सफलता नै सबैभन्दा दिगो र प्रेरणादायी हुन्छ। यस्तै एउटा जीवन्त उदाहरण हुन बडीमालिका ६ जडांगाका ३१ वर्षीय तन्नेरी सूर्य। बाल्यकालमै बुवा गुमाउनुको पीडा, चरम गरिबी, भयानक सडक दुर्घटना, र कोरोना महामारीमा आफ्नो ज्यानको बाजी थापेर गरिएको निस्वार्थ सेवा, यी सबै उतारचढावलाई पार गर्दै सूर्य आज सफलताको एउटा नयाँ उचाइमा आइपुगेका छन्। आज उनै ‘फ्रन्टलाइन हिरो’ सूर्यको जन्मदिन हो। यसै विशेष अवसरमा उनको सङ्घर्ष र सफलताको गौरवशाली कथा यहाँ प्रस्तुत गरिएको छ।
कोरोना महामारीको दोस्रो लहरले देश आक्रान्त थियो। जताततै सुनसान, मान्छे मान्छेसँग डराउनुपर्ने त्यो कहालीलाग्दो अवस्था। काठमाडौंबाट औषधी र अत्यावश्यक स्वास्थ्य उपकरण बोकेर एउटा गाडी बुटवलतर्फ गुडिरहेको थियो। गाडीको स्टेरिङ सम्हालिरहेका थिए २५ वर्षीय तन्नेरी सूर्य बडुवाल ।

साँझको करिब ७ बजेको हुँदो हो। दाउन्नेको ओरालो बाटोमा एक्कासि गाडीमा समस्या आयो। न ब्रेक लाग्छ, न गाडी अगाडि गुड्छ। चारैतिर घना जंगल र बीच सडकमा गाडी रोकियो। महामारीका कारण सडकमा अरू गाडीहरू पनि थिएनन्। गाडीमा सूर्य र म बाहेक कोही थिएन जम्मा दुई जना यात्रु थियौं । त्यो सुनसान रातमा गाडीको बिग्रिएको आवाजबाहेक जंगलबाट आउने अनेकन् आवाजहरूले मनमा चिसो पसिरहेको थियो। गाडीभित्र महामारीको डर त छँदै थियो, गाडीबाहिर जुनसुकै बेला जंगली जनावरले आक्रमण गर्न सक्ने अर्को भयानक त्रास थियो।
सूर्यले हतार-हतार ओर्लिएर गाडीको अगाडिको ‘बनोट खोले। केही बेरको प्रयासपछि गाडी स्टार्ट तो भयो, तर क्लजले कामै नगर्ने गरी। क्लोज प्लेट गएको रहेछ । होटलहरू बन्द थिए, कसैले ओत दिने अवस्था थिएन। त्यही मध्यजंगलको सुनसानमा सूर्यले लामो सास फेर्दै भनेका थिए,
“सर ! आज बाँचियो भने त भोलि घर पुगिहाल्थ्यौ है? बुवाले सानैमा छोड्नुभयो। मेरा पनि बच्चाबच्ची सानै छन्। हजुरले पनि भर्खरै बिहे गर्नुभएको छ।”
उनको त्यो एउटै वाक्यले व्याप्त डर र जिम्मेवारी दुवै छर्लङ्ग पार्थ्यो। तर, सूर्यले हिम्मत हारेनन्। जसोतसो बिस्तारै गाडी गुडाउँदै उनले गाडीलाई सुरक्षित बुटवलसम्म पुर्याए। त्यो रात तत्कालीन कार्यालय प्रमुख यज्ञराज अर्यालको पहलमा एउटा होटलमा बास पाइयो र ज्यान जोगियो। भोलिपल्ट सूर्यले खुसी हुँदै भने, “सर आज बाँचियो, भोलि त घर पुगिहाल्छौँ।”
सूर्यको यो साहस र संकटमा नआत्तिने बानी कुनै संयोग थिएन, यो त उनले बाल्यकालदेखि भोगेको संघर्षको उपज थियो। २०५२ सालमा जन्मिएका सूर्यको काँधमा सानै उमेरमा ठूलो बज्रपात पर्यो । कलिलै उमेरमा बुवालाई गुमाए। बुवा गुमेपछि घर बेसहारा बन्यो। के गर्ने, कसो गर्ने केही अत्तोपत्तो नभएपछि विवश बनेका सूर्य रोजगारीको खोजीमा घरबाट भागे। उनको गन्तव्य थियो-भारत।
तर, भाग्यले उनलाई अर्कै मोडमा पुर्यायो। गाडी चढ्ने पर्याप्त पैसासमेत नभएका उनी भाग्दै गर्दा अछामको साँफेबगरमा पुगेर रोकिए। गोजी रित्तो थियो, तर पेट भर्नु र आमाको सहारा बन्नु पर्ने बाध्यता थियो। त्यही बाध्यताका बीच उनले साँफेबगरमै गाडीमा खलासी (सह-चालक) को काम सुरु गरे।
एक वर्षसम्म गाडीको ढोकामा झुन्डिएर, धुलो र हिलो खाँदै उनले खलासीको कडा मिहिनेत गरे। यही यात्राका क्रममा एक दिन उनको जीवनमा एउटा भयानक दुर्घटना भयो।त्यतिबेला बस बाह्रविसको बेतालमाण्डौंसम्म मात्र आउथे । एकदिन गाडी ब्याक भइरहेका बेला पछाडिको भागले सूर्यलाई एकाएक किच्यो। छातीका दुईवटा करङ भाँचिए र उनी त्यहीँ बेहोस भए। वरिपरि रहेका मानिसहरूले उनलाई हतार-हतार गाडीमा हालेर अछामको बयलपाटा अस्पताल पुर्याए। अस्पतालको बेडमा होस आउँदा मात्र उनले आफूलाई जीवित पाए। काललाई जितेर फर्केका सूर्य त्यो ठूलो दुर्घटनापछि पनि डगमगाएनन् । डराएनन । फेरी गाडी लाईन मै बलियो भएर उदाए ।
त्यसपछि उनले बिस्तारै गाडी चलाउन पनि सिके। सानो उमेरमै उनले ठूला बसहरू चलाउन सक्ने आँट र सीप विकास गरे। सुदूरपश्चिमका घुमाउरा र खतरनाक सडकदेखि काठमाडौँ-धनगढीको लामो दूरीको यात्रामा सूर्यको हात स्टेरिङमा मज्जाले जम्यो। १५ वर्षसम्म उनले सडकलाई नै आफ्नो कर्मथलो बनाए।
काठमाडौँ-धनगढी बस चलाइरहेका सूर्यलाई बाजुराको बडीमालिका नगरपालिकामा नयाँ नेतृत्व आएपछि तत्कालीन नगरप्रमुख पदम बडूवालले नगरको गाडी चलाउन अफर गरे। एकातिर घरपायक हुने र अर्कोतिर आफ्नी एकल आमाको हेरचाह पनि गर्न पाइने मोहले उनले त्यो प्रस्ताव स्वीकार गरे र नगरप्रमुखको सवारी चालकमा नियुक्त भए।
नगरपालिकाको गाडी चालक बनेपछि सूर्यको जीवनले समाजसेवाको एउटा नयाँ मोड लियो। तर, लगत्तै सुरु भएको कोरोना महामारी उनका लागि अग्निपरीक्षा बन्यो। त्यो बेला धनगढी-डडेल्धुरा-मार्तडीको बाटोमा सूर्यको गाडी तारन्तार गुडिरहन्थ्यो। महामारीको त्रासले बाटोका होटलहरू ठप्प थिए। कैलालीबाट सूर्यकी श्रीमतीले श्रीमानको लागि भनेर बाटोभरिलाई पुग्ने गरी खाना पकाएर पठाउँथिन्। त्यही चिसो खानाको भरमा सूर्य भोकभोकै कति पटक मार्तडी पुग्थे। रातभरि गाडी चलाएर बिहान मार्तडी पुग्दा उनको शरीर थाकेर चुर हुन्थ्यो। तर, आराम गर्ने समय कहाँ हुनु? मात्र १-२ घण्टा आँखा चिम्लिन पाएका सूर्य फेरि अर्का बिरामी वा स्वाब परीक्षणका ‘किट’ बोकेर धनगढीतिर दौडिहाल्थे।
सङ्कट झन् गहिरिँदै गयो। कोरोनाका कारण ज्यान गुमाएका सङ्क्रमितहरूको शव बोक्न धैरे चालकहरूले डर र त्रासका कारण अस्वीकार गरे। तर, सूर्यले आफ्नो जीवनको बाजी राखे। “मैले नबोके कसले बोक्छ?” भन्दै उनले विचलित नभई लासहरूलाई गाड्ने ठाउँसम्म पुर्याए। धन्न! भगवानको असीम कृपाले उनलाई कहिल्यै सङ्क्रमण भएन।
तर, विडम्बना! जुन नगरपालिका र नगरवासीका लागि सूर्यले दिनरात नभनी, आफ्नो ज्यान र परिवारलाई जोखिममा राखेर सेवा गरे, त्यही नगरपालिकाबाट करिब ३ वर्षको सेवापछि राजनीतिक वा प्रशासनिक खिचातानीको बहानामा उनलाई जागिरबाट निकालियो। जसले महामारीमा लाससम्म बोकेर गुन लगायो, उसैलाई राजनीतिक पूर्वाग्रहका आधारमा निकालिँदा सूर्यको मन निकै रोयो।
नगरपालिकाबाट विमुख हुनुपर्दा सूर्यको मन केही समय अवश्य दुख्यो, तर उनी निराश भएनन्। “हातमा सीप हुनेहरूलाई भोकमरीको चिन्ता हुँदैन” भन्ने दृढ विश्वासका साथ उनले देश छोडेर दुवई (UAE) को यात्रा तय गरे।
आज उनी दुवई जस्तो विकासको चरम चुलीमा पुगेको देशमा कार्यरत छन्। हिजो नेपालका गाउँ-बेँसी दौडिने सूर्यको सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) अहिले ‘राष्ट्रिय’ बाट ‘अन्तर्राष्ट्रिय’ बनेको छ। विगतलाई सम्झँदै सूर्य भन्छन्:
“नगरपालिकाले जागिर नदिएकोमा मलाई कुनै पीर छैन। पीर तो यस कुराको हो कि म त्यही नगरको बासिन्दा हुँ। यदि मेरो काममा कुनै कैफियत थियो भने चित्त बुझ्थ्यो, तर फरक राजनीतिक आस्था वा पूर्व नगरप्रमुखको चालक भएकै कारणले मात्र जागिरबाट निकाल्ने परिपाटी निकै गलत हो। जनप्रतिनिधि फेरिनासाथ कर्मचारी फेर्ने चलन बन्द हुनुपर्छ। तर, म उहाँहरूलाई धन्यवाद दिन्छु; यदि मलाई जागिरबाट निकालिएको नभए मैले दुवई जस्तो विकसित देश देख्न पाउने थिइनँ, न त मेरो लाइसेन्स नै अन्तर्राष्ट्रिय बन्ने थियो।”
दुखको बादललाई चिर्दै उज्यालो सूर्यझैँ चम्किएका उनी अहिले दुखसुख गरेर कैलालीमा आफ्नो घर बनाएर सुरक्षित छन्। धुम्रपान र मद्यपानबाट टाढै रहेका यी तन्नेरीको मन अब परदेशमा धैरे अलमलिन चाहँदैन। उनी भन्छन्”अब आफ्नै गाउँघर फर्कनु छ र बडिमालिका माताकै आँगनमा बसेर गाउँ-समाजको निस्वार्थ सेवा गर्नु छ।” सानै उमेरमा सङ्घर्षका अनेकौँ पहाडहरू पन्छाउँदै उदाएका सूर्य धेरैका लागि प्रेरणाको एउटा उज्यालो स्रोत हुन्। उनलाई जन्मदिनको हार्दिक शुभकामना!


