सोमवार, जेष्ठ २५, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • जडीबुटी मार्ग र स्थानीय ‘इगो’ का कारण हुम्ला-बाजुरामा विवाद : आईजीपी पौडेल

जडीबुटी मार्ग र स्थानीय ‘इगो’ का कारण हुम्ला-बाजुरामा विवाद : आईजीपी पौडेल

  • सोमवार, जेष्ठ २५, २०८३
सेयर गर्नुहोस् :
जडीबुटी मार्ग र स्थानीय ‘इगो’ का कारण हुम्ला-बाजुरामा विवाद : आईजीपी पौडेल

बाजुरा– सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बाजुरा र हुम्लाको सीमा विवादित क्षेत्रमा संयुक्त सुरक्षा बेस स्थापना गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले सो क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त स्थायी बेस क्याम्प स्थापना गर्ने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन्।

संयुक्त स्थायी बेस स्थापना गर्ने योजना तयार पारेर सम्बन्धित निकायमा प्रस्ताव पेस भइसकेको महानिरीक्षक पौडेलले बताए। उनका अनुसार सो क्षेत्रमा सुरक्षा चौकी स्थापनाको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। हाल उक्त तनाव नियन्त्रणमा आए पनि दीर्घकालीन समाधानका लागि प्राविधिक सीमाङ्कन, घटनाको अनुसन्धान र स्थानीय जनभावनालाई समानान्तर रूपमा सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए।

सो क्षेत्र अत्यन्त संवेदनशील र रणनीतिक महत्वको स्थान रहेको उल्लेख गर्दै उनले उक्त क्षेत्र बहुमूल्य जडीबुटी उत्पादन तथा ओसारपसारको प्रमुख मार्गका रूपमा रहेको स्पष्ट पारे। बाजुरा तथा हुम्ला दुवै जिल्लाका बासिन्दाले सो क्षेत्रलाई आफ्नो पहुँचमा राख्न खोज्दा विवाद हुने गरेको उनको भनाइ छ। विवाद समाधानको मुख्य आधार प्राविधिक तथा भौगोलिक सीमाङ्कन रहेको उल्लेख गर्दै केन्द्र सरकारले गठन गरेको समितिले ठोस निर्णय गर्ने उनले बताए।

समितिको बैठकमा महानिरीक्षक पौडेलले भने, ‘यो क्षेत्र विवादित क्षेत्र हो। विशेष गरी सुरक्षा चौकी स्थापना गर्ने विषयसँग सम्बन्धित छ। साथै, यो अत्यन्त संवेदनशील क्षेत्र पनि हो, यो एउटा महत्वपूर्ण आवागमन मार्गमा पर्छ। त्यहाँ बहुमूल्य जडीबुटीहरूको उत्पादन तथा ओसारपसार हुने भएकाले बाजुरा र हुम्ला दुवै जिल्लाका स्थानीयवासीहरूको पहुँच तथा उपयोगको विषयमा विगतदेखि नै पटक–पटक मनमुटाव र विवाद हुने गरेको अवस्था छ। पछिल्लो समयमा प्रदेश सरकारले उक्त क्षेत्रमा सुरक्षा चौकी स्थापना गर्ने निर्णय गरेपछि उत्पन्न परिस्थितिबाट द्वन्द्व सिर्जना भएको देखिन्छ।’

उनले थपे, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को संयुक्त टोली त्यहाँ खटिएको छ। हाल उक्त टोलीले त्यहाँ अस्थायी बेस स्थापना गरी नियमित गस्ती गरिरहेको छ। वर्तमान अवस्थामा सुरक्षा अवस्था सामान्य र नियन्त्रणमा रहेको छ। हाल संयुक्त सुरक्षा टोलीले अस्थायी रूपमा काम गरिरहेको छ। साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त स्थायी बेस स्थापना गर्ने उद्देश्यका साथ आवश्यक योजना तयार गरी सम्बन्धित निकायमा पेस गरिसकिएको छ। सबैभन्दा प्रमुख विषय भनेको प्राविधिक तथा सीमाङ्कनसम्बन्धी पक्ष हो। यो विवादको दीर्घकालीन समाधानका लागि सीमाङ्कनसम्बन्धी विषय स्पष्ट हुनु अत्यावश्यक छ। जबसम्म यो विषय समाधान हुँदैन, तबसम्म विवादको स्थायी समाधान सम्भव देखिँदैन।’

महानिरीक्षक पौडेलका अनुसार विवादस्थल बाजुराको सदरमुकामबाट १०० किलोमिटरभन्दा बढी दूरीमा रहेको छ। विकट भौगोलिक अवस्था रहेको सो क्षेत्रमा पुग्न ८० किलोमिटर कच्ची सडकमा ८–९ घण्टा सवारी यात्रा र त्यसपछि थप १२–१३ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ। हाल दुवै सुरक्षा निकायको टोलीले अस्थायी बेस स्थापना गरी नियमित गस्ती गरिरहेकाले सो क्षेत्रको सुरक्षा अवस्था सामान्य रहेको उनले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार