
बाजुरा–अछामको रामारोसन गाउँपालिका–५ की बालिका कल्पना बुढाको परिवारलाई साढे चार लाख रुपैयाँ आर्थिक सहयोग भएको छ । करिव ८ महिनाअघि आमाको मृत्युपछि बिचल्लीमा रहेका कल्पनाका चार भाईबहिनीको परिवारलाई चार लाख ५० हजार रुपैयाँ सहयोग भएको हो ।
केही दिनअघि सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुँवरले कल्पना अध्ययन गरिरहेको विद्यालयमा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रममा कल्पना विद्यालयमै एक वर्षका भाईलाई काखीमा च्यापेर बसेको दृश्य खिचेर सामाजिक सञ्जालमा राखेकी थिइन् । बालिका कल्पनाको भावुक कथा बोकेको भिडिओ सामाजिक सञ्जालमा व्यापक फैलियो र विभिन्न सहयोगदाताहरुको सहयोगबाट संकलित चार लाख ५० हजार रुपैयाँ कल्पनाको परिवारलाई हस्तान्तरण गरिएको सामाजिक अभियान्ता कुँवरले बताइन् । उनले आमाको मृत्युपछि कल्पनाका बुवा पनि मानसिक रुपमा कमजोर छन् भने अहिले सिंगो परिवारको जिम्मेवारी नै कल्पनाको काँधमा रहेको बताइन् । संकलित रकम कल्पनाको परिवार तथा ती भाईबहिनीहरुको भविष्य सुरक्षित गर्ने उद्देश्यले जनप्रतिनिधि, स्थानीय सहितको रोहवरमा हस्तान्तरण गरिएको कुँवरले बताएकी छन् ।
भिडियोमार्फत कल्पनाको पारिवारिक अवस्था सार्वजनिक भएपछि देश–विदेशबाट धेरै व्यक्तिहरूले सहयोगका लागि हात बढाएका थिए । मानवीय संवेदनासँग जोडिएको यो अभियानले कठिन परिस्थितिमा रहेको परिवारलाई राहत पुग्नुका साथै सामाजिक एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।
आर्थिक अभाव र अभिभावक गुमाएको पीडामा रहेका ती चार बालबालिकाको पालनपोषण र पठनपाठनसँगै दैनिक जीवनयापनमा सहयोग पुग्ने विश्वास गरिएको छ । सामाजिक सेवाको उद्देश्य प्रचारभन्दा पनि पीडामा परेकाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु रहेको भन्दै यस्ता मानवीय कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको स्थानीयहरुले बताएका छन्। यो अभियानले सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने सन्देश समेत दिएको छ।


