
बाजुरा– हुम्ला र बाजुराको सीमाक्षेत्रमा देखिएको विवाद पछी बिहिबार देखी बन्द यातायात आज पनी जारी राखीएकाे छ । बाजुराकाे हिमाली गाउँपालिकामा पर्ने रानीसेन, च्याचौर, लाम्पाटा लगायत क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर बाजुराको हिमाली गाउँपालिकामाथि हुम्लावासीले गरेकाे आक्रमण बिबादलाइ लिएर दुइ दिन देखी सडक अबराेध गरिएकाे हाे ।
बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटा, च्याचौर क्षेत्रमा पाइने जडीबुटी तस्करी र अवैध वन्यजन्तु सिकार गर्ने कार्यलाई रोक्न त्यहाँ अस्थायी प्रहरी चौकी निर्माण गर्ने क्रममा दुई जिल्लाका स्थानीय विच झडप भएको थियाे । हुम्लाको नाम्खा गाउँपालिकाबाट आएको अज्ञात समूहले लाम्पाटामा कामदार लगायतका व्यक्तिलाई कुटपिट गरी घाइते बनाएको भन्दै विरोध स्वरुप हुम्लाबाट आउने र जाने सम्पूर्ण सवारी साधन बन्द गरिएकाे युवा समूहले जनाएकाे छ । यस्तै उनीहरुले हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं अभियानमा हिडेका धनगढीका मेयर गोपाल हमाल सहित हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द मल्लको टोलीलाई समेत अवरोध गरी अराजक शैलीमा स्थानीयमाथि कुटपिट गरेको भन्दै यातायात बन्द गर्ने घोषणा गरेका हुन् ।
त्यस्तै हिमाली युवा समूहले तत्काल उक्त घटनामा संलग्न सबैलाई कानुनी कारबाही गरी घाइतेको उपचार तथा जीउ ज्यानको सुरक्षा गर्न सरकार समक्ष माग गरेको छ । हुम्लाको नाम्खा, ताजाकोट, सर्केगाड र खार्पुनाथको सिमानामा रहेको बाजुराको लाम्पाटामा अस्थायी प्रहरी चौकी राख्ने निर्णय भएको थियो । चौकी स्थापना गर्न खोजेपछि हुम्लाका स्थानीयले कवाडीखोला भन्दा वारिपट्टि आएर चौकीको संरचना बनाउन खोजिएको भन्दै स्थानीयहरु बिच विवाद भएको जनाएको छ । उक्त विवादका क्रममा झडप हुँदा ६ जना घाइते भएका छन् ।


