बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बडीमालिका ९ का अव्यवस्थित तथा भूमिहीनहरुलाई निस्सा वितरण

बडीमालिका ९ का अव्यवस्थित तथा भूमिहीनहरुलाई निस्सा वितरण

  • बिहिबार, जेष्ठ ७, २०८३
सेयर गर्नुहोस् :
बडीमालिका ९ का अव्यवस्थित तथा  भूमिहीनहरुलाई निस्सा वितरण

बाजुरा—बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ९ का भूमिहीन सुकुम्वासी, भुमीहिन दलित र अव्यवस्थित बसोवासीहरुलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण गरिएको छ । भूमि प्राप्तिका लागि परेको निवेदनलाई लगत प्रणालीमा प्रविष्ट गर्ने काम सकिए लगत्तै निस्सा वितरणको काम सुरु गरेको हो । भुमि समस्या समाधान आयोग बाजुराको समन्वय तथा ९ नम्बर वडा कार्यालयको आयोजनामा भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासी गरी १ सय १९ जनालाई निस्सा वितरण गरेको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् ।

 आयोजित कार्यक्रममा  भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकलाई पहिचान गरी कानुनी प्रक्रिया अनुसार जग्गा व्यवस्थापनको आधार तयार गर्न निस्सा वितरण गरिएको वडा अध्यक्ष विकले बताए।   बडिमालिका नगरपालिका–९ का वडा कार्यालयका अनुसार वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई राज्यको पहुँचमा ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। साथै आगामी दिनमा आवश्यक प्रक्रिया पूरा गरी थप व्यवस्थापन कार्य अघि बढाइने जनाइएको छ।

नगरपालिकामा ‘निस्सा प्राप्त गर्ने भूमिहीनलाई वडा कार्यालयले ऐलानी तथा पर्ती जग्गा पहिचान गरेर भूमि आयोगलाई जानकारी दिएपछि नापजाँच गरेर लालपुर्जा वितरणको काम सुरु गरिने भुमि समस्या समाधान आयोगका अमिन तेज बडुवालले  बताए । वडा कार्यालयले जति छिटो काम गर्‍यो उति छिटो भूमिहीनले लालपुर्जा प्राप्त गर्ने समेत उनले बताए । ‘लाभग्राहीलाई निस्सा वितरण गरिसकेपछि वडा कार्यालयले सातदिने दाबी–विरोध सम्बन्धी सूचना जारी गर्नुपर्ने हुन्छ ।

वडा कार्यालयले जारीको सूचनामा कसैको पनि दाबी–विरोध नगरेको खण्डमा लालपुर्जा वितरणको काम अगाडि बढाइन्छ’ अमिन बडुवालले भने । भूमिहीन सुकुमवासीको हकमा नेपाल राज्यभित्र आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा जग्गा–जमिन नभएको तथा आफ्नो आय आर्जनका स्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ व्यक्ति वा परिवारलाई जग्गा उपलब्ध गराइने व्यवस्था रहेको अमिन बडुवालको भनाई रहेको छ ।

निस्सा प्राप्त गरेपछि लाभग्राहीहरूले आफूहरूको बसोबास व्यवस्थापन तथा आगामी लालपुर्जा प्राप्तिको प्रक्रियामा सहजता आउने अपेक्षा व्यक्त गरेका छन्। भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गा प्राप्ति वापत राजस्व नलाग्ने, तर अव्यवस्थित बसोवासीलाई आयआर्जन, सम्पत्ति, जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल बसोवासको मूल्यांकन लगायत सम्पूर्ण सुविधालाई ध्यानमा राखेर मापदण्ड निर्धारण गरिएको जनाइएको छ । बडीमालिका नगरपालिका ९ को वडा कार्यालयमा एक कार्यक्रमका बिच निस्सा वितरण कार्यक्रम गरिएको हो । बडिमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष सुर्यकिरण विकको अध्यक्षतामा संचालन भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार