
बाजुरा— बाजुराबाट जटिल अवस्थाकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत हवाई उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा हुम्लाको सर्केगाड गाउँपालिका–१ की १८ वर्षीया ललिता नेपालीलाई सुत्केरी व्यथा लागेको ६ दिन बित्दासमेत बच्चा जन्मिन नसकेपछि आज नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो।
गर्भवती महिलाको स्वास्थ्य अवस्था जटिल बनेपछि तत्काल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । उनका श्रीमान् हिमाल नेपालीले लगातार ६ दिनयता सुत्केरी व्यथा लागे पनि बच्चा नजन्मिएको कारण कर्णाली प्रदेश अस्पताल आउनुपरेको बताए ।
‘हाम्रो जिल्लामा भएका स्वास्थ्य सस्थामा आवश्यक उपकरण नभएकाले पनि रेफर हुनु परेको हो,’ उनले भने । दुर्गम क्षेत्रमा रहेका जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले नेपाली सेनामार्फत निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
–यसअघि हुम्ला सर्केगाड गाउँपालिका हुनु पर्नेमा अन्यथा भएकाेमा सच्चाइएकाे छ ।


