
बाजुरा– अछामको साँफेबगर नगरपालिका-२ स्वाँरबाडास्थित पहलमान सिंह स्वाँर मार्गमा बोलेरो जीप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन् । बुधबार बिहान करिब ६ः५० बजे धनगढीबाट बाजुरातर्फ आउँदै गरेको से १ ज ५४१ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक बाजुराको खप्तड छेडेदह गाउँपालिका-३ निवासी टेकेन्द्र रावत घाइते भएका छन् । उनको बायाँ खुट्टा भाँचिएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । त्यस्तै बाजुराको बुढीगंगा नगरपालिका–५ बस्ने अन्दाजी ४१ वर्षीया देबु खातीको छातीमा चोट लागेको छ । उनका श्रीमान ५३ वर्षीय नृप खातीको दाहिने हात र बायाँ आँखामा चोट लागेको प्रहरीले जनाएको छ ।
यस्तै बुढीगंगा नगरपालिका–९ की ३४ वर्षीया उज्जला सेरला घाइते भएकी छन् । उनको बायाँ खुट्टामा चोट लागेको छ । साथै ८० वर्षीया बैरागी सेरेलाको छाती र नाकमा चोट लागेको बताइएको छ । घाइते सबैको बयलपाटा प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


