बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा ब्लड बैंक अभाव, सुरक्षाकर्मीकै भरमा रक्तदान

बाजुरामा ब्लड बैंक अभाव, सुरक्षाकर्मीकै भरमा रक्तदान

इन्सपेक्टर भाटले रक्तदान गरेर सुत्केरीको ज्यान बचाए

  • मङ्लबार, जेष्ठ ५, २०८३
सेयर गर्नुहोस् :
बाजुरामा ब्लड बैंक अभाव, सुरक्षाकर्मीकै भरमा रक्तदान

बाजुरा–बाजुरामा ब्लड बैंक नहुँदा बिरामीहरुले समस्या भोग्दै आएका छन् । जिल्ला अस्पतालमा समेत ब्लड बैंक नहुँदा बिरामीहरुका लागि रगत खोज्दै बजार धाउनु पर्ने बाध्यता रहेको छ । जिल्ला अस्पतालमा मात्रै दैनिक जसो ३/४ जना बिरामीहरुका लागि रगत आवश्यक पर्‍यो भन्दै खबर आउँछ, यहाँका नागरिकहरु पनि रक्तदान गर्न तयार नहँदा बढीजसो सुरक्षाकर्मी कर्मचारी पत्रकार र स्वास्थ्यकर्मीहरुले नै रक्तदान गर्ने गरेको जिल्ला अस्पतालले जनाएको छ । मंगलबार पनि जिल्ला अस्पतालमा एक सुत्केरीलाई जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटले रक्तदान गरेका छन् ।

जिल्लाको बुढीगंगा नगरपालिका ९ बस्ने २० बर्षीय सुत्केरी बिकृसा सेरालालाई रगत दिएका हुन् । सोमबार गाउँकै स्वास्थ्य संस्थामा सुत्केरी भएकी सेरालालाई रक्तश्रावसँग स्वास्थ्यमा समस्या भएपछि परिवारले जिल्ला अस्पतालमा पुगाएका थिए । सुत्केरीलाई रगत चाहियो भन्दै खबर आएपछि प्रहरी निरीक्षक भाटले रक्तदान गरेका हुन् ।

त्यस्तै रगत अभावमा जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुमा आकस्मिक प्रसुति सेवा र अप्रेसन सेवा प्रभावित हुने गरेको छ । जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गिरीले कोही बिरामी वा गर्भवती, सुत्केरीहरुलाई रगत आवश्यक पर्दा सुरक्षाकर्मी, पत्रकार र स्वास्थ्यकर्मीहरुलाई गुहार्नु पर्ने बाध्यता रहेको बताए । जिल्ला अस्पतालमा ब्लड बैंक तथा रगत व्यवस्था गर्ने जिम्मेवारी रेडक्रसको भएको भन्दै आफूले पटकपटक आग्रह गर्दा पनि हालसम्म कुनै काम नभएको उनले बताए ।

यस्तै नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाका मन्त्री टंक प्रसाद न्यौपानेका अनुसार पहिले देखि नै ब्लड बैंक स्थापना गर्न पहल भइरहे पनि गर्न नसकिएको बताए । सबै स्थानीय तह र प्रदेशमा सञ्चालनका लागि प्रपोजल पेश गरे पनि कतैबाट सहयोग नहुँदा ब्लड बैंक स्थापना गर्न नसकिएको भन्दै अब तत्काल बैठक बसेर थप छलफल गर्नु पर्ने देखिएको बताए । उनले कोरोना कालमा र गत बर्ष पनि तामझामका साथ जिल्ला अस्पतालमा अस्थायी रक्त सञ्चार केन्द्र सञ्चालन गरे पनि त्यस लगत्तै मेसिन बिग्रिदा सेवा बन्द भएको मन्त्री न्यौपानेले बताए । यस्तै उनले यहाँका नागरिकहरुलाई रक्तदान गर्नु पर्छ भन्ने चेतनामा कमी हुँदा रगतका लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीकै भर पर्नु पर्ने बाध्यता रहेको बताए ।

रक्त संचार सेवा नेपाल रेडक्रस सोसाइटीकाे जिम्मा भए पनि नेपाल रेडक्रस सोसाइटी बाजुराकाे लापरबाहीका बाजुरा अस्पतालमा दिनहु नागरिकले सास्थी खेप्नुपर्ने बाध्यता रहेकाे पत्रकार लक्ष्मीराज पाध्यायले बताए । नेपाल रेडक्रस सोसाइटी बाजुराले रक्तदातालाइ हाैसला बढाउन एक प्रसंशा पत्र समेत नदिने जिम्वारीबाट पन्छिने गरेकाे उनकाे आराेप छ । १३ पटक रक्तदान गरिसकेका पत्रकार पाध्यायले आफुले मात्रै रक्तदान नगरी अन्य सेवाग्राहीहरुका लागी रगतकाे खाेजी गरि सम्पर्क गराइदिने लगायतका सहयाेग गर्ने गरेकाे अनुभव सुनाए ।  पत्रकार पाध्यायले नेपाल रेडक्रस सोसाइटीकाे गैरजिम्मेवारका कारण बाजुराबासीले दुख भाेग्नुपरेकाे आराेप लगाए ।

जिल्ला अस्पताल बाजुरामा जटिलयुक्त प्रसुति सेवासँगै अन्य अप्रेसन सेवा पनि सञ्चालनमा छ । ‘अप्रेशन गरेर कुनै महिलाको बच्चा जन्माउनु पर्‍यो भने रगत आवश्यक पर्छ । त्यसैले पहिला रगत दिने मान्छेको जोहो गरेमा मात्रै अप्रेशनको तयारी हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । अस्पताल बाजुरामा अन्य अप्रेसन सेवा समेत सञ्चालन रहेको छ, अस्पतालमा तीन जना विशेषज्ञ चिकित्सक रहेका छन् । तर अप्रेसन गर्दा रगत नपाउँदा समस्या हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार