
टेक बहादुर बुढा, १ जेठ बाजुरा– २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाजुराका एक संस्थागतसहित ७ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत सोमबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई नतिजामा एक संस्थागत र ६ वटा सामुदायिक विद्यालयहरुमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई बाजुराकाअनुसार सदरमुकाम मार्तडीमा रहेको क्रिएटर जोन एकेडेमीबाट एसईईमा सहभागी भएका १८ जना सबै उत्तीर्ण भएका छन् । यस्तै हिमाली गाउँपालिकाको भवानी मावि धुलाचौरमा २१ जना, बिच्छ्या मावि बिच्छ्यामा ९ जना, त्रिवेणीको पार्वती मावि छतारामा २० र पार्वती मावि कैलाशमाडौंमा सहभागी सबै २१ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।
यस्तै बडीमालिका नगरपालिका ७ रजातोलीस्थित ज्ञानोदय माविमा ८ जना र हिमाली गाउँपालिकाको बागेशवरी मावि रुगिनमा ८ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् । यि विद्यालयहरुबाट एसईईमा सहभागी भएका सबै विद्यार्थी ग्रेडेड भएर शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ ।
३ विद्यालयको नतिजा शून्य
एसईई नतिजामा बाजुराका ३ वटा विद्यालयमा शून्य नतिजा देखिएको छ । एसईईमा सहभागी कुनै पनि विद्यार्थीहरु उत्तीर्ण नभएपछि ती विद्यालयहरु निल भएका छन् । जसमा खप्तड छेडेदह गाउँपालिकाका मात्रै २ वटा सामुदायिक विद्यालयहरुमा शून्य नतिजा रहेको छ । गाउँपालिकाको वडा नम्बर २ माटेसाँघुस्थित देवस्थली मावि, वडा नम्बर ६ को जाल्पादेवि मावि र जगन्नाथ गाउँपालिकाको पिलुचौरस्थित बैदिक सनातन गुरुकुल विद्यापीठ विद्यालय एसईईमा निल भएका छन् ।
बाजुरा प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट २०७९ सालको निर्वाचनमा निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य पदम बहादुर शाहीको गृह वडामा रहेको देवस्थली माविको नतिजा हरेक वर्ष अत्यन्तै कमजोर देखिदैँ आएको छ । यस वर्षको एसईईमा सहभागी ६ जना विद्यार्थीहरु मध्ये कोही पनि उत्तीर्ण भएनन् । यस्तै सोही पालिकाको जाल्पादेवि माविमा ५ जना र जगन्नाथ गाउँपालिकाको पिलुचौरस्थित बैदिक सनातन गुरुकुल विद्यापीठ विद्यालयबाट एसईईमा सहभागी २ जना मध्ये कोही पनि उत्तीर्ण नभएको शिक्षा इकाईले जानकारी दिएको छ ।
यस वर्षको एसईईमा बाजुरामा कुल ६१ दशमलव ९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । जिल्लाभरका सामुदायिक र संस्थागत गरी ६८ विद्यालयबाट सहभागी मध्ये एक हजार ३१६ जना विद्यार्थी ग्रेडेड भएका छन् । बाजुरामा विगत दुई बर्षको नतिजालाई हेर्दा यो बर्ष सुधारोन्मुख देखिएको छ । शैक्षिक सत्र २०८० मा ३६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए भने गत बर्ष २०८१ मा ५१.७२ प्रतिशत विद्यार्थी र यस बर्ष ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । यो विगतको भन्दा नतिजामा सुधार भएको हो ।
कुन विद्यालयकाे नतिजा कस्ताे हेर्नुस् ।






