
काठमाडौं– नेकपा एमालेको पुनर्गठन र रुपान्तरणका दबाबस्वरूप युवा नेताहरू जुटेका छन् । मीनभवनस्थित नेपाल कर्मश क्याम्पसमा भएको जमघटलाई ‘पुनर्जागरण भेला’ को नाम दिइएको थियो । आजको छलफलको एकमात्र निष्कर्ष नेतृत्वको बिदाइ रहेको सहभागीले बताएका छन् ।
भेलामा पार्टीका वर्तमान तथा पूर्व केन्द्रीय सदस्य, अखिल, युवा संघका नेताहरू सहभागी थिए । चुनावमा पार्टीको शर्मनाक हार र दिनप्रतिदिन गिर्दो लोकप्रियताको ग्राफको एकमात्र कारक नेतृत्वको कार्यशैली देखिएको उनीहरूले बताएका छन् ।
अध्यक्ष केपी ओलीसहित (पहिलो पुस्ता) नेतृत्वको अनिवार्य बिदाइ, प्रदेश-जिल्ला कमिटीदेखि जनवर्गीय संगठनसम्म विघटन गरी तत्काल पुनर्गठन प्रक्रियामा जानुपर्ने उनीहरूको बटमलाइन छ ।
‘नेतृत्वकाे ग्रेसफूल एक्जिटको कुरा उठेको छ । पार्टीलाई पुनर्जागृत गर्न समय र जनअपेक्षाको बेग बुझेर कदम चाल्न ढिला गर्नु हुन्न । जति ढिला भयो त्यति क्षति हुने निश्चित छ । यो हाम्रो आवाज रोकिनेवाला छैन’, केन्द्रीय सदस्य नरेश रोकायाले बताए ।
तत्काल पार्टी केन्द्रीय सचिवालय वा केन्द्रीय कमिटी बैठक राखी नेतृत्वले राजीनामा दिनुपर्ने, केन्द्रीय कमिटी विघटन गर्नुपर्ने र मौजुदा कमिटीभन्दा बाहिरबाट ल्याएर संक्रमणकालीन अवधिका लागि ५-७ सदस्यीय अन्तरिम समिति बनाएर पुनर्गठनको बाटोमा जानुपर्ने भेलाको अर्को माग छ ।
भेलामा सहभागी अर्का युवा नेता भन्छन्, ‘अन्तरिमकालको नेतृत्व लिनेले १२औँमा अध्यक्षको प्रत्यासी नहुने ग्यारेन्टि गर्नुपर्छ । भैपरी आउने निर्णयहरू गर्न एक कार्यदल बनाउन सकिन्छ ।’
संगठित सदस्यता भौतिक उपस्थितिमा पुन: वितरण गरिनुपर्ने पनि उनीहरूको अर्को माग छ । युवा नेताहरूले १ वर्षभित्र अर्ली महाधिवेशनमा जोड दिएका छन् ।
अब साबिककै प्रतिनिधिबाट समय सापेक्ष नेतृत्व चयन हुन नसक्ने भन्दै विशेष महाधिवेशन नभई अर्ली महाधिवेशनलाई जोड दिइएको बताइएको छ ।
३ घण्टाभन्दा लामो समय चलेको भेलामा केन्द्रीय सदस्यहरू समीक बडाल, नरेश रोकाया, झपट रावल, पूर्व केन्द्रीय सदस्यहरू नवीना लामा, रमेश पौडेल, दीपा शर्मा, अखिलका पूर्वअध्यक्ष डा. सुजन कडरिया, युवा नेताहरू कमल जोशी, उपेन्द्र शाही, बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलियालगायतका नेताको उल्लेख्य सहभागी थियो ।


