बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • प्राकृतिक खेती बिस्तारको लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण

प्राकृतिक खेती बिस्तारको लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण

  • शुक्रबार, बैशाख १८, २०८३
सेयर गर्नुहोस् :
प्राकृतिक खेती बिस्तारको लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण

बाजुरा— प्राकृतिक खेतीको विस्तार तथा किसानको जीविकोपार्जन सुधार गर्ने उद्देश्यले गिफ्ट नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत ४२३ जना किसानलाई विभिन्न तरकारीका बीउबिजन वितरण गरिएको छ। जियन आइ नेपालको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममार्फत यस सिजनमा लगाउन मिल्ने ११ प्रजातिका तरकारीका बीउ किसानलाई उपलब्ध गराइएको हो।

कार्यक्रमअन्तर्गत बाजुराको बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका २ सय किसानलाई कृषि कार्य सहज र प्रभावकारी बनाउन आवश्यक सामग्रीसमेत वितरण गरिएको छ। वितरण गरिएका सामग्रीमा १८ वटा प्लास्टिक टनेल, २ सय वटा हजारी, लुज पाइप, ५० वटा काटछाँटका लागि प्रयोग हुने सिकेचर तथा ५०/६० वटा सिँचाइका लागि स्प्रिङ्कल रहेका छन्।

गिफ्ट नेपालका अध्यक्ष बल बहादुर राेकाया, परियोजना प्राविधिक सहायक, लेखा अधिकृत तथा स्वयंसेवक कृषि प्राविधिकको उपस्थितिमा सामग्री वितरण गरिएको थियो। परियोजनाका जेटीए विजय बि.सी.का अनुसार यस कार्यक्रममार्फत किसानहरूलाई प्राकृतिक खेतीतर्फ आकर्षित गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्य राखिएको छ। “यसले किसानको आम्दानी वृद्धि गर्न मात्र होइन, दिगो कृषि प्रणाली विकासमा समेत टेवा पुर्‍याउनेछ,” उनले बताए।

त्यसैगरी गिफ्ट नेपालका अध्यक्ष बलबहादुर रोकायले आगामी दिनमा संस्था र समुदायबीचको समन्वयलाई अझ सुदृढ बनाउँदै कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाइने बताए। उनले न्यून आय भएका समुदायको जीविकोपार्जनमा सुधार ल्याउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा गिफ्ट नेपालका कृषि प्राविधिक सुरेन्द्र बहादुर बोगटी, लेखापाल पुष्पा सेरला लगायत स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त परियोजना लामो समयदेखि बाजुराको बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा सञ्चालन हुँदै आएको छ, जसले ग्रामीण क्षेत्रमा कृषि उत्पादन वृद्धि र दिगो जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनले बताए।

कृषि क्षेत्रमा बारम्बार उठ्ने प्रश्न हो—अनुदानले किसानलाई आत्मनिर्भर बनाउँछ कि निर्भरता बढाउँछ? यही बहसका बीच गिफ्ट नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत बाजुरामा ४२३ किसानलाई तरकारीका बीउबिजन र २ सय  किसानलाई कृषि सामग्री वितरण गरिएको गिफ्ट नेपालले जनाएकाे छ।

जियन आइ नेपालको आर्थिक सहयोगमा सञ्चालन गरिएको यो कार्यक्रमले प्राकृतिक खेती विस्तार र उत्पादन वृद्धि गर्ने दाबी गरेको छ, तर यसको दीर्घकालीन प्रभाव भने परीक्षणकै चरणमा छ। यस सिजनका लागि ११ प्रजातिका तरकारीका बीउ वितरणसँगै प्लास्टिक टनेल, हजारी, लुज पाइप, सिकेचर र स्प्रिङ्कलजस्ता सामग्री किसानलाई उपलब्ध गराइएको छ।

चर्चामा

सम्बन्धित समाचार