
बाजुरा– बडीमालिका नगरपालिका ९ मा बाल संरक्षण प्रवर्द्धन तथा लैंगिक हिंसा न्यूनीकरणका लागि समुदायसँग छलफल कार्यक्रम गरिएको छ । “सशक्त महिला समृद्ध नेपाल कार्यक्रम” अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । बाल संरक्षण प्रवर्द्धन तथा लैङ्गिक हिंसा न्यूनीकरणका साथै पछाडि परेका वर्ग, ग्रामीण तहका महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई पहुँचमा ल्याई सशक्त बनाउने उद्देश्यले अन्तरपुस्ता संवाद तथा छलफल कार्यक्रम आयोजना गरिएको सामुदायिक विकास केन्द्र डाेटीले जनाएको छ ।
उक्त कार्यक्रममा बाल संरक्षण, लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य, सामाजिक सुरक्षा तथा मनोसामाजिक परामर्श सम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो। साथै, बालबालिकालाई समस्या पर्दा प्रयोग गर्न सकिने बाल हेल्पलाइन १०९८ को महत्व र उपयोगिताबारे समेत जानकारी गराइएको थियो। अपाङ्गता भएका व्यक्तिहरूलाई पहुँचमा ल्याउन विभिन्न क्रियाकलापबारे पनि छलफल गरिएको थियो।
उक्त कार्यक्रम सामुदायिक विकास केन्द्र डोटीकाे आयोजनामा टिपीओ नेपाल र CWIN संस्थाको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो। कार्यक्रममा ओसीएमसी सम्बन्धी सेवा तथा सुविधाका साथै लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यसम्बन्धी विषयमा CPSW लक्ष्मी थापाले सहभागीहरूलाई अभिमुखीकरण प्रदान गरेकी थिइन् ।
त्यस्तै टिपीओ नेपालद्वारा सामाजिक मनोपरामर्श तथा तनाव व्यवस्थापन सम्बन्धी विषयमा छलफल गरिएको थियो, जसमा तनावको अवस्था व्यवस्थापन गर्ने उपायहरूबारे जानकारी दिइएको थियो। बालबालिकाको उद्धार, हराइरहेको, चोरी भएको वा बालश्रममा परेका बालबालिकालाई सहयोग पुर्याउन बाल हेल्पलाइन १०९८ को प्रभावकारी प्रयोगबारे पनि जानकारी गराइएको बताएको छ।
त्यसैगरी, सिडिसी अनुगमन मूल्यांकन अधिकृत टेकेन्द्र भण्डारीले सिडिसी डोटीमार्फत प्रदान गरिने सेवाहरू तथा फिल्डस्तरमा सञ्चालन गरिने क्रियाकलापबारे थप जानकारी दिएका थिए । बडीमालिका नगरपालिकासँगको समन्वयमा वडा नम्बर ८ र ९ का घर ग वर्गका अपाङ्गहरूलाई सहभागिता गराएको थियो। उक्त कार्यक्रम बडीमालिका नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयमा सञ्चालन भएको हो ।


