
बाजुरा — बडिमालिका र बुढिनन्दा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि छुट्टै स्थल निर्माण गरिसकेका भए पनि मार्तडी–कोल्टी सडक खण्डअन्तर्गत बाटुले पातल क्षेत्रमा जथाभावी फोहोर फाल्ने क्रम बढ्दै गएको पाइएको छ। स्थानीय शिक्षक बलबहादुर रोकायाका अनुसार उक्त क्षेत्रमा सिसाजन्य फोहोर, प्लास्टिक तथा अन्य नकुहिने वस्तुहरू अनियन्त्रित रूपमा फालिएका छन्। “करिब दुई ट्याक्टर बराबर फोहोर एउटै स्थानमा खन्याइएको छ,” उनले भने।
उक्त क्षेत्र बडिमालिका नगरपालिका–७ अन्तर्गत पर्ने कालाजग्रा ठाम्रा सामुदायिक वन उपभोक्ता समितिको कार्यक्षेत्रमा पर्छ। तर, वन क्षेत्रको प्रयोग भने बुढिनन्दा नगरपालिका–९ र १० का बासिन्दाले गर्दै आएका छन्। सो स्थानबाटै राष्ट्रिय वन सुरु हुने भएकाले यहाँ फोहोर थुप्रिनु थप चिन्ताको विषय बनेको छ।
जंगलको बीचमै फोहोर फाल्दा सडक आसपासको वातावरण प्रदूषित हुनुका साथै मानव स्वास्थ्य र वन्यजन्तुमा नकारात्मक असर पर्ने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि चिन्ता व्यक्त गरेका छन्। डिभिजन वन कार्यालय बाजुराका प्रमुख सुरेशचन्द डिसीले वन क्षेत्रमा फोहोर फाल्ने जो–कोहीलाई अनुसन्धान गरी कानुनी दायरामा ल्याइने बताए। “यस विषयमा तत्काल अनुसन्धान अघि बढाइन्छ,” उनले भने, “प्लास्टिकजन्य फोहोर दीर्घकालीन रूपमा नष्ट नहुने भएकाले माटो, पानी र हावामा गम्भीर असर पार्छ।”
उनका अनुसार सिसाजन्य फोहोरका कारण दुर्घटनाको जोखिम समेत बढ्ने भएकाले यस्ता कार्य नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ। स्थानीयले भने फोहोर व्यवस्थापनका लागि निर्माण गरिएका स्थल प्रयोग नगरी सडक किनार, त्यो पनि वन क्षेत्रमै फोहोर फाल्ने प्रवृत्तिलाई तत्काल नियन्त्रण गर्नुपर्ने माग गरेका छन्। यसका लागि बडिमालिका र बुढिनन्दा नगरपालिकाले अनुगमनलाई कडाइका साथ अघि बढाई व्यवस्थित फोहोर व्यवस्थापन सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
सडक किनार, त्यो पनि वन क्षेत्रमै फोहोर फाल्ने प्रवृत्तिलाई नियन्त्रण नगर्ने हो भने यसको असर दीर्घकालीन रूपमा वातावरण, पर्यटन सम्भावना र जनस्वास्थ्यमा पर्ने निश्चित छ। सामाजिक सञ्जालमा स्थानीयले उठाएका प्रश्नहरूले पनि समस्या गहिरो भएको देखाउँछन्। “जंगलमै फोहोर किन ?” भन्ने प्रश्न अहिले सर्वसाधारणको साझा जिज्ञासा बनेको छ।


