
बाजुरा–शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) बाजुराले विद्यार्थी भर्ना अभियान सफल बनाउन सामूहिक पहलका लागि आह्वान गरेको छ । शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०२६ को अवसरमा मंगलबारबाट सुरु भएको विद्यार्थी भर्ना अभियान २०८३ सफल बनाउन आह्वान गरेको हो ।
“शिक्षाको लागि अभियानको ज्योति उच्च राखौँ” भन्ने मूल नाराका साथ अप्रिल २१ देखि मे २७ ( २०८२ वैशाख १ देखि २२) सम्म शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताहमा विभिन्न अभियानात्मक कार्यहरु संचालन भएको जनाएको छ । नेपाल सरकारले तय गरेको कार्ययोजना अनुसार विद्यार्थी भर्ना अभियान सफल बनाउन सामूहिक पहलका लागि एनसिई बाजुराले आह्वान गरेको छ । नेपालमा सबै बालबालिकालाई आधारभूत तथा माध्यमिक शिक्षामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले प्रत्येक वर्ष सञ्चालन हुँदै आएको विद्यार्थी भर्ना अभियान यस वर्ष पनि “विद्यार्थी भर्ना अभियान २०८३” का रूपमा सञ्चालन भएको छ ।
यस अभियानलाई प्रभावकारी, समावेशी तथा दिगो बनाउन स्थानीय तहको सक्रिय नेतृत्व र सहकार्य अपरिहार्य रहेको एनसिई बाजुराका अध्यक्ष मदनराज जैशीले बताए । अभियानलाई सफल बनाउन स्थानीय सरकार, सरोकारवाला निकाय, विद्यालय, अभिभावक तथा सम्पूर्ण समुदायलाई सामूहिक पहल गर्न अनुरोध समेत गरेका छन् ।
हालसम्म पनि विभिन्न सामाजिक, आर्थिक, भौगोलिक तथा सांस्कृतिक कारणहरूले गर्दा धेरै बालबालिका विद्यालय बाहिर रहेका छन् वा निरन्तरता दिन नसकिरहेका छन्। यस्तो अवस्थामा “सबैका लागि शिक्षा” को लक्ष्य हासिल गर्न सबै पक्षको समन्वयात्मक प्रयास आवश्यक रहको बताएको छ । सबै बालबालिकाको शिक्षा प्राप्त गर्ने मौलिक अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ सञ्चालन भइरहेको भर्ना अभियानलाई सफल बनाउन सबै सरोकारवाला पक्षलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ ।
बाजुरा जिल्लामा अझै पनि विभिन्न कारणले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय शिक्षामा आवद्ध गराउन, विद्यालय छोडेका बालबालिकालाई पुनःभर्ना गराउन तथा गुणस्तरीय र समावेशी शिक्षा सुनिश्चित गर्न यो अभियान महत्वपूर्ण अवसरका रूपमा रहेको जैशीले बताए । आर्थिक अभाव, सामाजिक विभेद, बालश्रम, बालविवाह तथा दुर्गम भौगोलिक अवस्थाका कारण शिक्षा पहुँचबाट वञ्चित बालबालिकालाई लक्षित गरी स्थानीय तह, विद्यालय, अभिभावक, समुदाय तथा सरोकारवाला निकायहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
एनसिईले बाजुरा जिल्लामा समुदायमा जनचेतना अभिवृद्धि, अभिभावक अभिमुखीकरण, विद्यालयसँग समन्वय तथा जोखिममा रहेका बालबालिकाको पहिचान गरी भर्ना प्रक्रियामा सहयोग गर्दै आएको छ। विशेषगरी दलित, जनजाति, अपाङ्गता भएका, तथा विपन्न समुदायका बालबालिकालाई प्राथमिकतामा राखी समावेशी शिक्षाको प्रवर्धनमा जोड दिइएको छ ।
त्यस्तै एनसिई बाजुराका अध्यक्ष जैशीले यस अभियानलाई अझ प्रभावकारी बनाउन अभिभावकहरूलाई आफ्ना बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गराउन, स्थानीय सरकारलाई आवश्यक सहयोग र सहजिकरण गर्न तथा विद्यालयहरूलाई बालमैत्री वातावरण सिर्जना गर्न अनुराेध गरे । शिक्षा सबैका लागि अधिकार हो– अनुरोध गरेका छन् । सबैको नेतृत्वमा यी कार्यहरू प्रभावकारी रूपमा कार्यान्वयन भई “कोही पनि बालबालिका विद्यालय बाहिर नरहने” लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास समेत व्यक्त गरिएको छ ।


