
बाजुरा–बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएका उपसचिव भोजबहादुर ऐडीले राजीनामा दिएका छन् । बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर ऐडीले राजीनामाका लागि निवेदन दिएका हुन् ।
भर्खरै उपसचिवमा बढुवा भएका ५६ बर्षीय ऐडीले आफू दुर्गममा जान नसक्ने र सुगममै खटाउन अनुरोध गर्दा पनि सरकारले दुर्गम क्षेत्रमा पठाउने गरेको गुनासो गरेका छन् । उनले विभिन्न व्यक्तिगत समस्या र कारण देखाउँदै राजनीनामाका लागि निवेदन दिएको र स्वीकृत भने नभएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले उपसचिव ऐडीलाई २०८२ पुसमा बुढीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको थियो । ऐडी सरुवा भएको दुई महिनापछि फागुनमा नगरपालिकामा उपस्थित भए तर एक साता नबित्दै फर्किए । फेरी मन्त्रालयले चैत्र १६ मा ऐडीलाई बुढीगंगामै खटाए पनि हालसम्म हाजिर भएका थिएनन् । नगरपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन छ ।


