
बाजुरा —बाजुराको बुढीनन्दा नगरपालिकाकाे कोल्टीमा न्यायिक समितिको प्रथम जिल्ला सम्मेलन आजदेखि सुरु भएको छ। वैशाख १३ र १४ गतेसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन बुढीनन्दा नगरपालिकाका उपप्रमुख तथा सम्मेलन अध्यक्ष राम बहादुर बोहोराको अध्यक्षतामा संचालन भएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसिराम रोकाया रहेका थिए भने विशिष्ट अतिथिका रूपमा उपप्रमुख लाछु सार्की बाजुरा जिल्लाका विभिन्न नगरपालिकाका प्रमुख, गाउँपालिका अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्षहरू, न्यायिक समिति सदस्यहरू तथा छिमेकी जिल्ला अछाम र कर्णाली प्रदेशअन्तर्गत मुगु, कालिकोट र हुम्लाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
उद्घाटन सत्रमा वक्ताहरूले स्थानीय तहमा न्यायिक समितिको भूमिकालाई अझ प्रभावकारी बनाउन सम्मेलन महत्वपूर्ण हुने बताएका छन्। उनीहरूले न्यायिक समिति मार्फत स्थानीय स्तरमै छिटो, सुलभ र निष्पक्ष न्याय प्रवाह गर्नुपर्ने आवश्यकता रहेकाे बताए । प्रमुख अतिथि रोकायाले न्यायिक समितिहरूलाई अझ सशक्त बनाउँदै जनताको न्यायमा पहुँच सहज बनाउन सबै तहबीच समन्वय आवश्यक रहेको बताए। त्यस्तै अतिथिहरूले न्यायिक समितिको क्षमता अभिवृद्धि, कानुनी ज्ञान विस्तार र अनुभव आदानप्रदानका लागि यस्ता सम्मेलनहरू अत्यन्त उपयोगी हुने धारणा व्यक्त गरेका छन् ।
सम्मेलनका अध्यक्ष बोहोराले स्थानीय तहमा देखिएका न्यायिक समस्याहरूको समाधान खोज्ने, अनुभव साटासाट गर्ने र न्याय सम्पादन प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिए। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा न्यायिक समितिको कार्यप्रणाली, चुनौती र समाधानका उपायहरूबारे छलफल गरिनुका साथै विभिन्न कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ। सम्मेलनले स्थानीय न्याय प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र जनमैत्री बनाउने दिशामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


