
बाजुरा— सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध जडिबुटी संकलनकर्ताहरूलाई लक्षित गर्दै हिमाली जडिबुटीहरूको संरक्षण तथा दिगो व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले एकदिने गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरिएको छ । सामुदायिक वन उपभोक्ता समूहका जडिबुटी संकलनकर्ताहरूको दर्ता प्रणालीलाई व्यवस्थित बनाउने तथा उनीहरूको सहभागिता बढाउने लक्ष्यसहित आयोजित कार्यक्रममा संकलनकर्ताहरू र उनीहरूको परिवारको समावेशी सहभागिताबारे समेत जानकारी प्रदान गरिएको थियो।
उक्त कार्यक्रम बाजुरा जिल्लाका हिमाली गाउँपालिका, बुढीनन्दा नगरपालिका र गौमुल गाउँपालिकामा सफलतापूर्वक सञ्चालन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी संकलनकर्ताहरूलाई जडिबुटीको दिगो संकलन विधि, संरक्षणका उपाय तथा वैज्ञानिक व्यवस्थापनका विषयमा अभिमुखीकरण गरिएको थियो ।
कार्यक्रममार्फत नेपालमै पहिलो पटक जडिबुटीको स्रोत सर्वेक्षण (रिसोर्स सर्भे) सम्बन्धी डाटा संकलन कार्यको समेत सुरुवात गरिएको बताइएको छ । यसले जडिबुटीको वास्तविक अवस्था पहिचान गर्न तथा दीगो उपयोगको योजना बनाउन सहयोग पुग्ने विश्वास गरिएको फेकोफन बाजुराका बन अधिर्कत चेत राज जैशीले बताए ।
स्थानीय समुदायको सक्रिय सहभागिताले जडिबुटी संरक्षण, व्यवस्थित संकलन तथा दिगो उपयोगमार्फत स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसर वृद्धि हुने अपेक्षा गरिएको बन अधिकृत जैशीको भनाइ छ । साथै, यस्ता कार्यक्रमले प्राकृतिक स्रोतको संरक्षणसँगै समुदायको आर्थिक सशक्तीकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।


