
बाजुरा– दुर्गम क्षेत्रका अशक्त नागरिकसम्म राज्यले सेवा पुर्याउने प्रयास स्वरूप बाजुरा जिल्ला प्रशासन कार्यालयले अशक्त नागरिकलाई घरमै पुगेर नागरिकताको प्रतिलिपी उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बुढीनन्दा नगरपालिका ६, कोटिलाका ३३ वर्षीय खगिन्द्र भाटलाई धनगढीस्थित बसोबास स्थलमै पुगेर नागरिकताको प्रतिलिपी हस्तान्तरण गरेका छन ।
रेल दुर्घटनामा दुवै खुट्टा गुमाएका भाट हाल बाजुरामा हिँडडुल गर्न असहज भएपछि कैलालीको धनगढीमा कोठा लिएर बस्दै आएका छन् । उनको सन २०१८ सालमा भारतको मुम्बई स्थित बेलापुरमा काम गर्न जाने क्रममा रेल दुर्घटनामा परेर दुवै खुट्ट गुमाएर अशक्त भएका थिए । सोही दुर्घटनाका क्रममा उनको नागरिकता समेत हराएको थियो ।
नागरिकता हराएसँगै भाट लामो समय देखि राज्यबाट प्राप्त हुने आधारभूत सेवा सुविधाबाट समेत वञ्चित हुँदै आएका थिए । न्यून आम्दानीकाअक्तताले प्रशासनसम्म हिड्न नसकेका कारण पुन नागरिकता बनाउन प्रक्रिया अघि बढाउन समेत कठिनाइ भएको उनले बताएका छन् । प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार अशक्त तथा सेवासम्म पहुँच नपुगेका नागरिकलाई लक्षित गर्दै घरदैलोमै पुगेर सेवा प्रदान गरिएको हो । राज्यको सेवा सबै नागरिकसम्म समान रूपमा पुग्नुपर्छ भन्ने मान्यता अनुसार हामीले धनगढीमै पुगेर नागरिकताको प्रतिलिपी दिएको बताए ।
खगिन्द्रका बुबा मदनबहादुर भाटले वडाको सिफारिसका साथ जिल्ला प्रशासन कार्यालय पुगेपछि छोराको अवस्थाबारे जानकारी गराएका थिए । त्यसपछि प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी सेवा प्रवाहलाई नागरिक मैत्री बनाउँदै घरमै पुगेर प्रतिलिपी वितरण गरेको हो। नागरिक समाजका अगुवाका अनुसार राज्यको यस्तो पहलले सेवाप्रवाहलाई प्रभावकारी र समावेशी बनाउने बताए। अशक्त र पहुँचबाट टाढा रहेका नागरिकसम्म पुग्ने यस्ता कामले राज्यप्रतिको भरोसा बढाएको बताए ।
दुर्गम बाजुराबाट ३ सय किलोमिटर टाढा धनगढीसम्म पुगेर सेवा दिनु प्रशासनको सक्रियता र संवेदनशीलताको उदाहरण भएको स्थानीयले बताएका छन्। यसले सेवा लिन असमर्थ नागरिकका लागि राज्यको उपस्थिति अझ नजिकबाट अनुभूत गराएको समेत नागरिक अगुवाहरू बताउछन ।


