बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा एचआइभी सम्बन्धी लान्छना र भेदभाव न्यूनीकरण गर्न अभिमुखीकरण

बाजुरामा एचआइभी सम्बन्धी लान्छना र भेदभाव न्यूनीकरण गर्न अभिमुखीकरण

समुदायमै सचेतना बढाएर भेदभावरहित वातावरण निर्माण गर्न जोड

  • मङ्लबार, चैत्र ३, २०८२
सेयर गर्नुहोस् :
बाजुरामा एचआइभी सम्बन्धी लान्छना र भेदभाव न्यूनीकरण गर्न अभिमुखीकरण

बाजुरा—एचआइभी तथा एड्ससँग सम्बन्धित लान्छना र भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले बाजुरामा अभिमुखीकरण कार्यक्रम गरिएको छ । मंगलबार स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा जनप्रतिनिधि, पत्रकार, प्रहरी, एचआइभी तथा मुख्य जोखिम समूहका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा एचआइभी संक्रमित व्यक्तिहरूले समाजमा अझै पनि भोग्नुपरेका सामाजिक विभेद, अपमानजनक व्यवहार र मानसिक तनावका विषयमा गम्भीर छलफल गरिएको थियो । सहभागीहरूले संक्रमित व्यक्तिहरूप्रति समाजमा सकारात्मक सोचको विकास आवश्यक रहेको बताएका छन् । यस्तै स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कुमार न्यौपाने र जिल्ला अस्पतालका डाक्टर नकेन्द्र मल्लले प्रशिक्षण गर्दै एचआइभीले शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई असर गर्ने र त्यसलाई औषधिले नियन्त्रण गर्न सकिने भन्दै सही उपचारले लामो र स्वस्थ जीवन सम्भव रहेको बताए ।

त्यस्तै उनीहरुले एचआइभी संक्रमणका कारण, रोकथामका उपाय तथा उपचार प्रक्रियाबारे जानकारी दिँदै एचआइभी सामान्य सम्पर्कबाट नसर्ने स्पष्ट पारे। असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग, एउटै सुई वा सिरिन्ज प्रयोग तथा संक्रमित आमाबाट बच्चामा सर्न सक्ने भए पनि सँगै बस्दा, खाना खाँदा, हात मिलाउँदा वा सामान्य सामाजिक सम्पर्कबाट नसर्ने जानकारी गराएका छन् । एचआइभी संक्रमित व्यक्तिले नियमित रूपमा एआरटी औषधि सेवन गरेमा सामान्य मानिससरह लामो समयसम्म स्वस्थ जीवन बिताउन सक्ने बताए । उनीहरूले लान्छना र भेदभावका कारण संक्रमित व्यक्तिहरू उपचार सेवाबाट टाढा रहने जोखिम बढ्ने भएकाले यस्ता नकारात्मक व्यवहार अन्त्य गर्न आवश्यक रहेकोमा जोड दिए ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कुमार न्यौपानेले एचआइभी सम्बन्धी भेदभावरहीत नीति नियम र कार्यक्रम स्थानीय तहमा निर्माण र कार्यान्वयन गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न बजेट तथा स्रोत व्यवस्थापन गर्न जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे । त्यस्तै पत्रकार तथा सञ्चार माध्यमले एचआइभी सम्बन्धी सही तथ्यपरक र वैज्ञानिक जानकारी जनतासम्म पर्‍याउने, संक्रमितको गोपनीयता कायम गर्ने, जनचेतना बढाउन सामाजिक अभियान र बहस कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिए । एचआइभी संक्रमित व्यक्तिप्रति मानवीय समान व्यवहार, समुदायमा हुने भेदाभाव, हिंसा र दसर्व्यवहार विरुद्ध कानुनी कारबाही गर्ने प्रहरीको भूमिका रहने भन्दै संक्रमितहरुले पनि आफ्‌नो अधिकारका लागि आवाज उठाउने र भेदभावविरुद्ध बोल्नु पर्ने न्यौपानेले बताए ।

यस्तै प्रमुख अतिथिको रुपमा बोल्दै बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले एचआइभी संक्रमित व्यक्तिहरूको गोपनीयताको संरक्षण, मानव अधिकारको सम्मान तथा समान व्यवहार सुनिश्चित गर्न यस्ता कार्यक्रममार्फत सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताए ।

त्यस्तै बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापाले एचआइभी संक्रमण रोकथामसँगै संक्रमित व्यक्तिहरूलाई सम्मानजनक र भेदभावरहित वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएकी छन् ।

त्यसैगरी, उक्त कार्यक्रममार्फत बाजुरामा हालसम्म एचआइभीको संक्रमणबाट २८ जनाको मृत्यु भएको तथ्य समेत सार्वजनिक भएको छ । जिल्लामा हाल ७२ जना एचआइभीबाट संक्रमित भएर नियमित औषधि सेवन गरिरहेको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार