
बाजुरा—बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका २ पुडेनीमा ढुंगा प्रहार गरी एक जनाको हत्या भएको छ । पुडेनी बस्ने अन्दाजी ३५ वर्षका सर्वाश बुढाको ढुंगा प्रहार गरी हत्या भएको हो ।
सोमबार सोही ठाँउ बस्ने अन्दाजी ४५ बर्षका धनबहादुर महतरा र उनका छोरा अन्दाजी १८ बर्षका हेमराज महतराले सर्वाशको टाउकोमा ढुंगा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे वडाध्यक्ष विष्णुबहादुर बुढाले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मुक्तिकोटबाट प्रहरी नायब निरीक्षक रवीन्द्र धामीको नेतृत्वमा टोली खटिएको थियो ।
कुटपिटमा संलग्न धन बहादुर महतरालाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ भने उनका छोरा हेमराज महतरा फरार रहेको रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । यस्तै अहिले इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनाको थप अनुसन्धानका लागि खटिएको जनाइएको छ ।


