
बाजुरा—बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनक गिरीले अग्रता कायमै राखेका छन् । हालसम्म २० हजार ३३२ मतगणना हुँदा गिरी १ हजार १६० मतान्तरले अग्रता जोगाइरहेका छन् भने एमाले उम्मेदवार लालबहादुर थापा पछ्याइरहेका छन् ।
हालसम्म कांग्रेसका गिरीले ७ हजार ८५२ मतसहित अगाडि छन् भने एमालेका थापाले ६ हजार ६९२ मत पाएका छन् । त्यस्तै रास्वपा उम्मेदवार हेमराज थापाले ३ हजार ३४४, नेकपाका प्रकाश शाहले एक हजार ४०४, राप्रपाका केशर शाहीले १७९, नेकपा माओवादीका भुपेन्द्र विकले १०९, प्रलोपाका दिपक डिसी ८५ र स्वतन्त्र उपेन्द्र शाहीले ५७ मत प्राप्त गरेका छन् ।
शुक्रवार साँझ साढे ७ बजेबाट गणना सुरु भएकोमा हालसम्म हिमाली, खप्तड छेडेदह, स्वामीकार्तिक खापर गाउँपालिका र बुढीगंगा नगरपालिकाको मतगणना सकेर जगन्नाथको सुरु गरिएको छ । एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा ८७ हजार ८६१ मतदाता रहेकोमा ४५ हजार ३९० मत खसेका छन् ।


