
बाजुरा– फागुन २१ गते सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनको मतदान सकिएको एक सय १५ मतदान केन्द्रको मतपेटिका सुरक्षाकर्मीको विशेष निगरानीमा आज विहान पाँच बजेसम्म मत पेटिका पुगेको मुख्य निर्वाचन अधितृकको कार्यालय बाजुराले जनाएको छ ।
एक सय १८ मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्र रहेको बाजुरामा एक सय १४ मतदान केन्द्रको सवारी साधन बस र जीपमा मतपेटिका ल्याइएको हो । भने हिमाली गाउँपालिका–३ मा रहेको हिमालभक्ति आधारभूत विद्यालय गुम्बाको मत पेटिका बिहीबार नै नेपाली सेनाको हेलिकप्टर मार्फत ल्याइएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार एक सय १५ मतदान केन्द्रको मतपेटिका आएपछि हिमाली गाउँपालिका–३ रहेको गंगा आधाभूत विद्यालय बौडी,वडा नम्बर १ मा रहेको सुनन्दा मा.वि. बाम र विच्छ्या मावि विच्छ्याको मतपेटिका आज नेपाली सेनाको हेलिकप्टर मार्फत ल्याउने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए ।
बिहीबार हेलिकप्टरमा उक्त मतपेटिका ल्याउन साँझ भइसकेकाले आज विहान सेनाको हेलिकप्टर मार्फत मतपेटिका ल्याउने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत पोखरेलले भने । सडक पहुँच भएका क्षेत्रका मतपेटिका आएर मतगणनास्थल जिल्ला समन्वय समिति बाजुरामा राखिएका छन् । भने तीन मतदान केन्द्रको मतपेटिका आएमा आज नै सर्वदलीय बैठक बोलाएर मत गणनाको तयारी गरिने मुख्य निर्वाचन अधिकृत पोखरेलको भनाई रहेको छ ।
विगतका निर्वाचनलाई चिर्दाै यो पटकको निर्वाचन शान्तिपूर्ण,भयरहित वातावरणमा सम्पन्न भएको छ । यहाँ ८७ हजार ८६१ मतदाता रहेको छ । कुल मतदाताको ४६ हजार २३२ मत खसेको छ । तीमध्ये ५२ प्रतिशत मत खसेको हो । प्रतिनिधी सभा सदस्यका लागि सात राजनितिक दल र एक स्वतन्त्र गरी आठ जना उम्मेदवार रहेका छन् ।


