
बाजुरा — आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाभर सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको छ। कार्यालयले सूचना जारी गर्दै निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै मिति २०८२ साल मंसिर २० गते राति १२:०० बजेदेखि मिति २०८२ मंसिर २१ गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि प्रतिबन्ध लागू गरिएको जनाएको छ।
सूचनाका अनुसार एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी साधन, विद्युत, खानेपानी तथा दूरसञ्चार मर्मतका लागि प्रयोग हुने सवारी साधन तथा निर्वाचनको दिन सवारी पास प्राप्त गरेका सवारी साधनबाहेक अन्य सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउने उद्देश्यले उक्त निर्णय गरिएको जनाइएको छ। प्रशासनले सबै सरोकारवाला तथा सर्वसाधारणलाई सूचनाको पूर्ण पालना गर्न आग्रह गरेको छ।



