• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • धनगढीमा गुणस्तरीय स्वास्थ्य सेवासहित केयरटेकर अस्पताल सञ्चालनमा

धनगढीमा गुणस्तरीय स्वास्थ्य सेवासहित केयरटेकर अस्पताल सञ्चालनमा

  • बुधबार, माघ २९, २०८२
धनगढीमा गुणस्तरीय स्वास्थ्य सेवासहित केयरटेकर अस्पताल सञ्चालनमा

धनगढी -सुदूरपश्चिम प्रदेशकाे राजधानी रहेकाे धनगढीमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले केयरटेकर अस्पताल प्रा.लि. सञ्चालनमा आएको छ। धनगढीको शहीद गेट नजिकै यसअघि स्वस्तिक अस्पताल सञ्चालनमा रहेको भवनमै केयरटेकर अस्पताल सञ्चालनमा ल्याइएको हो।

मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत अस्पतालका अध्यक्ष गोपाल बहादुर शाहीले सेवा–सुविधा, उद्देश्य र भावी योजनाबारे जानकारी गराएका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले स्वास्थ्य सेवा केवल व्यवसाय नभई सेवा, संवेदना र समर्पणको माध्यम भएको उल्लेख गरे। उनले भने, “आज पनि धेरै नागरिक आर्थिक अभावका कारण उपचारबाट वञ्चित छन्। सरकारी अस्पतालमा अत्यधिक भीड छ भने निजी अस्पताल महँगो छन्। यही खाडल पूर्ति गर्न केयरटेकर अस्पताल स्थापना गरेका हौँ। यहाँ सरकारी अस्पताल सरह किफायती शुल्कमा निजीस्तरको गुणस्तरीय सेवा प्रदान गरिनेछ।”

१०० शैयाको सुविधा सम्पन्न संरचनासहित सञ्चालनमा आएको अस्पतालमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक मोड्युलर अपरेशन थिएटर, २४ सै घण्टा आपतकालीन (इमर्जेन्सी) सेवा तथा एम्बुलेन्स सुविधा उपलब्ध रहेको छ।
अस्पतालमा जनरल मेडिसिन, महिला तथा प्रसूति रोग, हाडजोर्नी तथा मेरुदण्ड, छाला तथा सौन्दर्य, मुटुरोग, रेडियोलोजी, नाक–कान–घाँटी, दन्त उपचार, फिजियोथेरापी, ल्याप्रोस्कोपी सर्जरी, युरो सर्जरी, न्युरो सर्जरीलगायत विभिन्न विशेषज्ञ सेवाहरू सञ्चालनमा रहेका छन्। साथै डिजिटल एक्स–रे, अल्ट्रासाउन्ड र आधुनिक प्रयोगशाला सेवा जडान गरिएको अस्पतालले जनाएको छ।

अस्पताल परिसरमा पर्याप्त पार्किङ सुविधा, हरियाली पार्क, एसी सुविधा तथा बिरामीमैत्री वातावरण तयार गरिएको छ। अनुभवी तथा दक्ष चिकित्सकबाट सेवा प्रदान भइरहेको र आगामी दिनमा थप विशेषज्ञ सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष शाहीले जानकारी दिए।

स्वास्थ्य उपचारसँगै अस्पताललाई स्वास्थ्य शिक्षा केन्द्रका रूपमा विकास गर्ने तयारीसमेत गरिएको छ। निकट भविष्यमै नर्सिङ कलेज तथा हेल्थ असिस्टेन्ट (एच.ए.) अध्ययन कार्यक्रम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ।
यसैगरी भेन्टिलेटरयुक्त एम्बुलेन्स, सीटी स्क्यान मेसिन जडान, आईभीएफ सेवा तथा कार्डियो र क्यान्सर विभाग सञ्चालन गर्ने योजना पनि रहेको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रमसमेत ल्याइने अस्पतालले जनाएको छ। अध्यक्ष शाहीले बिरामीलाई सम्मानजनक व्यवहार, उपचारमा पारदर्शिता र मानव जीवनलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै सञ्चारकर्मीलाई सत्य र सकारात्मक सूचना समाजसम्म पुर्‍याउन आग्रह गरे।
हामी पैसाभन्दा पहिले मानव जीवनलाई महत्व दिन्छौँ। सेवा नै हाम्रो धर्म हो उनले भने। केयरटेकर अस्पताल सञ्चालनमा आएसँगै सुदूरपश्चिमका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाका लागि ठूला शहर धाउनुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार