
बाजुरा— बडीमालिका नगरपालिका र सामाजिक सुरक्षा कोषबीच योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सामेल हुन औपचारिक सम्झौता भएको छ। स्थानीय तहमा श्रमिकको हक–अधिकार सुनिश्चित गर्ने उद्देश्यले उक्त सम्झौता १ दिने कार्यशाला गोष्ठीकै अवसरमा सम्पन्न गरिएको हो।
सम्झौताअनुसार बडीमालिका नगरपालिकाले नगर क्षेत्रभित्र रहेका रोजगारदाता, श्रमिक तथा औपचारिक क्षेत्रमा कार्यरत जनशक्तिलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सहजीकरण गर्नेछ। सामाजिक सुरक्षा कोषले भने योगदानमा आधारित योजनाअन्तर्गत उपचार, दुर्घटना, मातृत्व, अशक्तता तथा बृद्धावस्थासँग सम्बन्धित सुविधाहरू उपलब्ध गराउनेछ।
सम्झौता हस्ताक्षर कार्यक्रममा नगर प्रमुख अमर बहादुर खड्काले सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउनु स्थानीय सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै यसले श्रमिकको जीवनमा भरोसा र स्थायित्व ल्याउने बताए। “योगदानमा आधारित सामाजिक सुरक्षा श्रमिकको सुरक्षित भविष्यको आधार हो,” उनले भने, “नगरपालिकाले सबै रोजगारदातालाई योजनामा आबद्ध हुन प्रेरित गर्नेछ।”
त्यसैगरी सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कबिराज अधिकारीले स्थानीय तहसँगको सहकार्यले सामाजिक सुरक्षा योजनाको पहुँच विस्तार हुने विश्वास व्यक्त गरे। उनले बडीमालिका नगरपालिकासँग भएको सम्झौताले बाजुरामा औपचारिक श्रम प्रणालीलाई बलियो बनाउने बताए।
उक्त सम्झौता बडीमालिका नगरपालिकामा कार्यरत तथा नगर क्षेत्रभित्र रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यसले स्थानीय तहमा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयनमा नयाँ मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।
