
बाजुरा— सदरमुकाम मार्तडीमा ४ दिन उधमशिलता बिकास तथा याेजना तयारी तालिम सम्पन्न भएकाे छ । माघ १८ गते देखी संचालन भएकाे साे तालिम एक बिषेश कार्यक्रमका बिच सम्पन्न भएकाे हाे । बाजुरा जस्ताे हिमाली जिल्लामा पाइने बहुमूल्य जडिबुटी वर्षौँदेखि आम्दानीको स्रोत बन्दै आए पनि अव्यवस्थित संकलन, कच्चा रूपमा निर्यात र बजार पहुँचको अभावले यसको वास्तविक लाभ स्थानीय समुदायसम्म पुग्न नसकेकाे अबस्थामा साे तालिमले केही उर्जा दिन भएकाे छ । यही पृष्ठभूमिमा हिमाली जडिबुटीको संरक्षण र दिगो व्यापारलाई उद्यमसँग जोड्ने उद्देश्यले बाजुरामा चार दिने उद्यमशिलता तथा उद्यम व्यवस्थापन तालिमकाे आयाेजना गरिएकाे थियाे ।
जिल्लाभरका २५ भन्दा बढी उधमीहरुलाइ साे तालिममा सहभागी भएकाे फेकाेफन बाजुराले जनाएकाे छ । UK International Development को Darwin Initiative को आर्थिक सहयोगमा, TRAFFIC र एन्साब नेपाल (ANSAB) को सहकार्यमा तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (FECOFUN) को सहभागितामा तालिम सञ्चालन गरिएको फेकोफन बाजुराका बन अधिकृत चेतराज जैशीले बताएका छन ।
तालिमको मुख्य उद्देश्य सहभागीहरूलाई उद्यमशिलता र उद्यम व्यवस्थापनका आधारभूत पक्षहरूबारे स्पष्ट ज्ञान प्रदान गर्नु, उपयुक्त उद्यम छनोटका विधि तथा प्रक्रिया बारे जानकारी गराउने उदेस्यले आयाेजना गरिएकाे थियाे । बजार व्यवस्थापन सम्बन्धी आवश्यक जानकारी दिनु र व्यवहारिक व्यावसायिक योजना निर्माणमा दक्ष बनाउनु रहेको आयोजक संस्था एन्साब नेपालका बाजुरा र हुम्ला बन अधिकृत संगम हमालले बताए । तालिममा हिमाली जडिबुटी तथा वन पैदावरमा आधारित उद्यमहरूको दिगोपनाका मापदण्ड, प्रमाणिकरण प्रक्रिया, ती मापदण्ड पूरा गर्न आवश्यक तथ्यांक संकलन र व्यवस्थापन विधिबारे पनि विस्तृत छलफल गरिने एन्साब नेपालले जनाएको छ ।
यसले स्थानीय स्तरमा जडिबुटीमा आधारित उद्यमलाई व्यवस्थित र दीर्घकालीन बनाउने अपेक्षा गरिएको छ । कार्यक्रमका अध्यक्ष तथा बाजुरा सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष सीता बराल थापाले जडिबुटी संरक्षणलाई केवल वनको विषय नभई समुदायको जीविकासँग जोडिएको विषयका रूपमा बुझ्नुपर्ने बताइन्। “जडिबुटी हाम्रो प्राकृतिक पूँजी हो, तर सही ज्ञान र उद्यम बिना यसले समुदायलाई दीर्घकालीन फाइदा दिन सक्दैन। संरक्षण र आयआर्जन सँगसँगै अघि बढ्नुपर्छ।” उनले बताइन् । बाजुरामा लामो समयदेखि रहेको ‘संकलन गर र बेच’ प्रवृत्तिबाट बाहिर निस्कनुपर्ने उनको भनाई रहेको छ ।
त्यसै गरि तालिम समापन कार्यक्रमका प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय बाजुराका प्रमुख सुरेशचन्द डिसीले भने जडिबुटीको दिगोपनामा सबैभन्दा ठूलो चुनौती अवैज्ञानिक संकलन र कमजोर अनुगमन रहेको बताएका । “संरक्षण बिना व्यापार सम्भव छैन, र व्यापार बिना संरक्षण दीगो हुँदैन। जडिबुटीलाई वैज्ञानिक व्यवस्थापन, कानुनी प्रक्रिया र उद्यमसँग जोड्न सके मात्र वन र मानिस दुवै सुरक्षित हुन्छन्।” उनले भने । राज्यको भूमिकालाई नियन्त्रणभन्दा सहकार्यतर्फ उन्मुख गराउनुपर्ने उनको भनाई रहेको छ ।
त्यसै गरी घरेलु तथा साना उद्योग विकास कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख पदमबहादुर ऐरले जडिबुटीमा आधारित उद्यमलाई ग्रामीण अर्थतन्त्रको सम्भावित मेरुदण्डका रूपमा रहेको र “बाजुरामा उद्योग स्थापनाका लागि ठूलो पूँजीभन्दा स्थानीय स्रोत र सीप नै मुख्य आधार रहेको बताएका छन । जडिबुटीमा आधारित साना उद्यम प्रवद्र्धन गर्न तालिम, प्रविधि र सरकारी सेवा जोडिनु जरुरी रहेको उनको भनाई रहेको छ ।
तालिममा सहभागीहरूलाई उद्यम छनोटका आधार, बजार व्यवस्थापन, मूल्य श्रृंखला व्यावसायिक योजना निर्माण तथा वन पैदावरमा आधारित उद्यम सञ्चालनका लागि आवश्यक दिगोपनाका मापदण्ड र प्रमाणिकरण प्रक्रियाबारे ज्ञान दिइने तालिमका प्रशिक्षक तथा एन्साव नेपालका फिल्ड संयोजक चण्डिका अम्गाईले बताएका छन। यसले जडिबुटीलाई कच्चा रूपमा बाहिर पठाउने परम्परालाई तोड्दै स्थानीय स्तरमै मूल्य अभिवृद्धि गर्ने अपेक्षा गरिएको उनको भनाई रहेको छ । तालिमका प्रमुख प्रशिक्षकका रूपमा एन्साब नेपालका फिल्ड संयोजक चण्डिका अम्गाई, एन्साब नेपालका बाजुरा र हुम्ला बन अधिकृत संगम हमाल र फेकोफन बाजुराका बन अधिकृत चेतराज जैशीले गरेका थिए।
कार्यक्रम बाजुरा सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष सीता बराल थापाको अध्यक्षतामा सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय बाजुराका प्रमुख सुरेशचन्द डिसी रहेका थिए। विशेष अतिथिहरूमा घरेलु तथा साना उद्योग विकास कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख पदमबहादुर ऐर, बडिमालिका नगरपालिका उद्यम विकास शाखा प्रमुख रञ्जिता शाही रावल, उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकाया र पत्रकार लक्ष्मीराज पाध्याय रहेका थिए।
कार्यक्रमको सञ्चालन एन्साब नेपालका वन अधिकृत संगम हमालले गरेका थिए । आयोजक संस्थाहरूले हिमाली जडिबुटीमा आधारित स्थानीय उद्यमहरूको विकासमार्फत रोजगारी सिर्जना, आयआर्जन वृद्धि र जैविक विविधताको संरक्षणमा यस तालिमले महत्वपूर्ण योगदान पुर्याएकाे बताएका छन् ।
