
बाजुरा— नेकपा एमाले बुढीगंगा नगर कमिटीको आयोजनामा पालिका–स्तरीय अगुवा कार्यकर्ता भेला बुढीगंगा नगरपालिकामा सम्पन्न भएको छ। भेलाले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठनात्मक तयारी, चुनावी रणनीति र उम्मेदवारको पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा विस्तृत छलफल गरेको छ।
भेलामा एमाले बाजुराका केन्द्रीय तथा जिल्ला नेता, बुढीगंगा नगर कमिटीका पदाधिकारी, वडा कमिटीका प्रतिनिधि, जनसंगठनका अगुवा कार्यकर्ता तथा युवा–महिला नेतृत्वको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले पार्टीलाई स्थानीय तहसम्म मजबुत बनाउँदै जनतासँग प्रत्यक्ष संवाद बढाउनुपर्नेमा जोड दिएका थिए।
भेलामा वक्ताहरूले एमालेको नीति, सिद्धान्त र विगतमा पार्टी नेतृत्वमा भएका विकास निर्माणका कामबारे जनतालाई स्पष्ट रूपमा जानकारी गराउनुपर्ने आवश्यकता औंल्याए। साथै, घरदैलो अभियान, टोल भेटघाट र आमसभालाई अझ व्यवस्थित र प्रभावकारी बनाउने विषयमा साझा धारणा बनाइएको छ।
कार्यक्रममा बोल्दै पार्टी नेताहरूले बुढीगंगा नगरपालिका एमालेको महत्वपूर्ण राजनीतिक आधार क्षेत्र भएको उल्लेख गर्दै यहाँबाट एकताबद्ध सन्देश दिन सकिए जिल्लाभर सकारात्मक प्रभाव पर्ने बताएका छन्। उनीहरूले संगठनभित्र अनुशासन, समन्वय र सक्रियता नै चुनावी सफलताको मुख्य आधार हुने धारणा राखे।
भेलाले आगामी दिनमा बुढीगंगा नगरपालिकाका सबै वडामा नियमित बैठक, प्रशिक्षण कार्यक्रम र जनसम्पर्क अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। साथै, पार्टीका उम्मेदवारलाई जिताउने साझा लक्ष्यसहित सबै अगुवा कार्यकर्ता फिल्डमा खटिने प्रतिबद्धता जनाइएको छ। नेकपा एमाले बुढीगंगा नगर कमिटीले पार्टीलाई थप बलियो र जनमुखी बनाउँदै निर्वाचनमा निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
एमाले बाजुराका नेताहरूका अनुसार उम्मेद्धवार समेत रहेका लाल बहादुर थापा र केन्द्रीय सदस्य तथा निबर्तमान स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाकाे गृह नगरपालिकाबाट सुरु गरिएको अभियानले संगठनलाई थप उत्साहित बनाएको बताएका छन । पार्टीका अनुसार आगामी दिनमा बुढीगंगासँगै जिल्लाका अन्य स्थानीय तहमा पनि घरदैलो, टोलभेटघाट र आमसभा कार्यक्रमलाई निरन्तरता दिइने जनाएकाे छ।
एमाले बाजुराले उम्मेदवार थापाको सरल छवि, संगठनात्मक एकता र जनतासँगको प्रत्यक्ष संवादलाई चुनावी जितको मुख्य आधार मानेको छ। गृह नगरपालिकाबाट सुरु भएको यो अभियानले जिल्लाभर सकारात्मक सन्देश गएको पार्टीको दाबी छ। नेकपा एमाले बुढीगगा नगर कमिटी अध्यक्ष राकेश थापाकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा रहेका थिए । एमाले बाजुराका उम्मेद्धवार तथा केन्द्रीय सदस्य लाल बहादुर थापा, केन्द्रीय सदस्य सहदेव बाेगटी र नरेश राेकाया बिषिष्ठ अतिथिकाे रुपमा रहेका थिए । अतिथिहरुमा नेकपा एमाले बाजुराका अध्यक्ष लाल बहादुर आेली,उपाअध्यक्ष जनक कुमार बाेहरा लगायत रहेका थिए ।
