
बाजुरा— प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बाजुरा जिल्लामा उम्मेदवार मनोनयनका लागि विभिन्न राजनीतिक दलहरूलाई समय निर्धारण गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार मनोनयन प्रक्रिया निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित दलहरूलाई आग्रह गरिएको छ।
कार्यतालिकाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दिउँसो १:०० बजे उम्मेदवार मनोनयन गर्नेछ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लागि दिउँसो २:०० बजेको समय तोकिएको छ। त्यसैगरी नेकपा एमालेले दिउँसो २:३० बजे मनोनयन दर्ता गर्नेछ।
नेपाल कम्युनिष्ट पार्टीले दिउँसो ३:०० बजे उम्मेदवार मनोनयन गर्ने तालिका रहेको छ भने नेपाली काँग्रेसले सबैभन्दा अन्त्यमा दिउँसो ४:०० बजे मनोनयन प्रक्रिया सम्पन्न गर्नेछ।
निर्वाचन अधिकृतको कार्यालयले तोकिएको समयमै उपस्थित भई आवश्यक कागजातसहित मनोनयन दर्ता गर्न सम्बन्धित दल तथा उम्मेदवारहरूलाई अनुरोध गरेको छ। मनोनयन प्रक्रियासँगै बाजुरामा प्रतिनिधिसभा निर्वाचनको राजनीतिक गतिविधि थप सक्रिय बन्दै जाने छन ।
निर्णयमा उम्मेदवार दर्ता गर्दा आवश्यक पर्ने सम्पूर्ण कागजात मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उपलब्ध गराइने जनाइएको छ। राजनीतिक दलका प्रतिनिधिहरूले मनोनयन पत्र सहित उम्मेदवारले पेश गर्नुपर्ने कागजातको विवरण समयमै उपलब्ध गराई सो सम्बन्धमा जानकारी गराउने उल्लेख गरिएको छ। यसैगरी निर्वाचन आयोगबाट जारी भएका निर्देशन, निर्देशिका, परिपत्र, निर्वाचन आचारसंहिता तथा निर्वाचनसँग सम्बन्धित प्रचलित ऐन कानुनको अक्षरशः पालना गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको बैठकमा मुख्य निर्वाचन अधिकृत संजीव पोखरेल,प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, जिल्ला निर्वाचन अधिकारी भीमबहादुर शाही,सुरक्षा निकायका प्रमुख,राजनितिक दलका प्रमुख तथा प्रतिनिधीहरु सहभागी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
