
बाजुरा—बाजुराको बुढीगंगा नगरपालिकामा निर्माण हुन लागेको १५ शैय्या अस्पताल अलपत्र अवस्थामा रहेको छ । सम्पन्न गर्ने मिति सकिएको लामो समय बितिसक्दा पनि जग समेत हाल्ने काम भएको छैन् । अस्पतालको केही फाउन्डेसन खनेर निर्माण कार्य अलपत्र रहेको स्वास्थ्यकर्मी दिपक शाहले बताएका छन् ।
पालिकाले २२ करोड १ लाख ९४ हजार ६ सय २० रुपैयाँमा ठेक्का लगाएको थियो । स्काइ निशान अधिकारी जेभीले १८ करोड ८४ लाख ९४ हजार ८ सय ९६ रकममा काम गर्ने गरि सम्झौता भएको थियो । पालिका र निर्माण कम्पनीबिच २०७८ कार्तिक २२ गते सम्झौता भएको थियो । २०८० भदौ २० गते काम सम्पन्न गर्ने रहेको थियो । सो समयभित्र काम सम्पन्न गर्नु पर्ने भएपनि हाल २० प्रतिशत पनि काम नभएको पाइएको छ ।
नगरपालिकाले पुनः कम्पनीलाई काम गर्ने म्याद थप गरेको छ । ठेकेदारले २ करोड ६० लाख पेश्की लिएको छ भने काम गरे बाफत १ करोड १८ लाख गरि ३ करोड ७८ लाख पालिकाबाट भुक्तानी लिइसकेको छ । तर काम भने १० प्रतिशत पनि नभएको प्राविधिकले जनाएका छन् ।
नगरपालिकामा निर्माण हुन लागेको अस्पताल एक त जोखिम ठाउँमा भइरहेको छ, अर्को ठेकेदारले काम नगर्दा समस्या भएको स्थानियले बताए । अहिले निर्माण भइरहेको पहिरो जाने तथा भिरालो ठाउँ रहेको छ । अस्पताल निर्माण हुन लागेको माथि भागमा रहेका चार परिवार विस्थापित समेत भइसकेका छन् । अस्पतालको फाउन्डेसन खन्दै माथितिर पहिरो जाने सम्भावना भएपछि चार परिवार विस्थापित भएको नगर प्रमुख राम बहादुर बाँनियाले बताए ।
पालिकाका एक प्राविधिकले भने अस्पताल निर्माणका लागि डिपिआर नै गलत ठाउँमा भएको थियो । पछिल्लो समय ठेकेदारको कमजोरीले भवन निर्माण अलपत्र रहेको नगर प्रमुख बाँनियाले बताएका छन् । केपी शर्मा ओली प्रधानमन्त्री हुदा एक पालिका एक अस्पतालको शुरुवात अन्तर्गत बुढीगंगा नगरपालिकामा पनि अस्पताल निर्माण हुन लागेको हो । ठेकेदारले ३ करोड बढी रकम लिइसकेको छ, काम भने अस्तव्यस्त बनाएको स्वास्थ्यकर्मी शाहले भने । पटक पटक नगरपालिकामा भवन निर्माण पहल चाडो गर्न आग्रह गरेपनि काम भने हुन नसकेको शाहले बताए ।
अस्पतालको भवन निर्माणको बेला दिपक विक्रम शाह नगर प्रमुख थिए । उनी काँग्रेसबाट निर्वाचित हुन् । अहिले एमालेबाट निर्वाचित नगर प्रमुख राम बहादुर बाँनिया रहेका छन् । निर्माण हुन लागेको अस्पताल उपयुक्त ठाउँमा नभएको भन्दै स्थानियले विरोध जनाएका थिए । सम्भावित ठाउँ अन्यत्र भएपनि त्यो बेला पालिकाले मनोमानी रुपमा जोखिम ठाउँमा अस्पताल बनाउन लागेको एक स्थानियले बताएका छन् । सँगै निर्माण शुरु भएको गौमुल गाउँपालिका र जगन्नाथ गाउँपालिकामा रहेको १५ शैय्या अस्पताल निर्माण सम्पन्न भएर प्रयोगमा समेत आइसकेको छ ।
