• होमपेज
  • राजनीति
  • एमालेको नयाँ नेतृत्व चुन्‍न आज मतदान

एमालेको नयाँ नेतृत्व चुन्‍न आज मतदान

  • मङ्लबार, पुस १, २०८२
एमालेको नयाँ नेतृत्व चुन्‍न आज मतदान

काठमाडौं—नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा अपरान्ह ४ बजेपछि मात्रै मतदान शुरु हुने भएको छ ।

अन्तिम उम्मेदवार नामावली सार्वजनिक भएसँगै केन्द्रीय निर्वाचन टोली चुनावी प्राविधिक काममा जुटेको छ ।

निर्वाचनका लागि आवश्यक डिजिटल तयारी थालिँदा निर्वाचन आयोगले उपलब्ध गराएको सबै नाम डिजिटल प्रणालीमा कोडिङ गर्न अपरान्ह ४ बजेसम्म लाग्ने अनुमान गरिएको छ। यसैले दिउँसो १ बजेदेखि भनिएको मतदान ४ बजेपछि शुरु हुने भएको छ ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । महासचिव पदमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन् । मतदान विद्युतीय मेसिनमार्फत् हुनेछ ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदानमा ८० वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ । कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

मतदानपछि भृकुटीमण्डपमै मतगणना हुने निर्वाचन आयोगले जनाएको छ । मतपरिणाम घोषणा, प्रमाणपत्र प्रदान र शपथ ग्रहण पनि सोही ठाउँमै हुने एमालेले जनाएको छ ।

यी भए निर्विरोध निर्वाचित

एमालेको अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव पदसहित १४ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहाडी, उपाध्पक्ष चक्रबहादुर पराजुली र सचिव राजेन्द्र घिमिरे निर्विरोध भएका छन् ।

लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा घनेन्द्र राज घिमिरे र सचिवमा ईश्वरी प्रसाद खरेल निर्विरोध भएका छन् । केन्द्रीय सदस्यहरुमा युवा खुलामा नरेश रोकाय, सुशील थापा, मधेशी युवामा अमरकुमार यादव, मुस्लिम महिलामा खाजिदा खातुन सिद्दिकी, श्रमिक महिलामा कमलादेवी तामाङ र सिता लामा निर्वाचित भएका छन् ।

पछडिएको महिलामा बदमी क्वाँरी बुढा (बोहरा) र प्रवाश दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे पनि निर्विरोध निर्वाचित भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार