शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बडीमालिकाका सामुदायिक विद्यालयमा सिकाइ अपुरण तथा द्रुत सिकाइ योजना लागू हुदैँ

बडीमालिकाका सामुदायिक विद्यालयमा सिकाइ अपुरण तथा द्रुत सिकाइ योजना लागू हुदैँ

पहिलो चरणमा अभिमुखीकरण

  • शुक्रबार, मंसिर २०, २०८२
बडीमालिकाका सामुदायिक विद्यालयमा सिकाइ अपुरण तथा द्रुत सिकाइ योजना लागू हुदैँ

बाजुरा—बाजुराको बडीमालिका नगरपालिकाका सामुदायिक विद्यालयमा सिकाइ अपुरण तथा द्रुत सिकाइ योजना लागू हुने भएको छ । कुनै पनि कारणले विद्यार्थीहरुको सिकाइमा भएको घाटा पूर्ति गर्न तथा विद्यार्थीको सिकाइ क्षमतामा सुधार गर्न उक्त योजना लागू हुन लागेको हो ।

नेपाल सरकारले अघि सारेको उक्त योजना लागू गर्नका लागि बडीमालिका नगरपालिकामा जनप्रतिनिधि, प्राधानाध्यापक तथा सरोकारवालाहरुसँग पहिलो चरणमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । बडीमालिका नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सिकाइ अपुरण तथा द्रुत सिकाइ योजनाबारे जानकारी र कार्यान्वयनका लागि भावि रणनीतिक योजना र सुझावका लागि पहिलो चरणको कार्यक्रम गरेको हो । छोटो समयमा आवश्यक ज्ञान तथा सिप प्रदान गर्ने, उमेर अनुसारको कक्षामा समायोजन गर्न सक्ने बनाउने र तीव्र सिकाइ रणनीतिहरू अवलम्वन गर्ने योजना निर्माणका लागि अभिमुखिकरण कार्यक्रम गरिएको जनाएको छ ।

शिक्षा शाखाका शाखा प्रमुख तथा शाखा अधिकृत रंगमल विक र अधिकृत राम बहादुर कटुवालले उक्त योजनाको अभिमुखीकरण गरेका थिए । अभिमुखीकरणपछि विद्यार्थीको वेसलाइन र इन्डलाइन फारम छपाइ गरी परीक्षा सञ्चालन, थप कक्षा सञ्चालन, क्षमता विकास कार्यक्रम, विद्यालय अनुगमन, कक्षा अवलोकन र इमिस वेभमा विद्यालयको आवश्यक इन्ट्रि गर्ने जस्ता क्रियाकलापहरु हुने बताए । शाखा अधिकृत रंगमल वि को उक्त योजनामा विद्यार्थीहरुले के कति सिकाइ उपलब्धि हासिल गरेका छन् र कुन विषयमा कमजोर छन भन्ने कुरा समेत पहिचान हुने बताए ।

सिकाइ अपुरण तथा द्रुत सिकाइ योजना हाल बडीमालिका नगरपालिकाका लक्ष्मी मावि, ज्ञानोदय मावि र नेपाल राष्ट्रिय माविमा पीसविनको आभा परियोजनाबाट समेत लागू भइरहेको आभा परियोजना संयोजक पदम कठायतले जानकारी दिएका छन् ।

त्यस्तै उक्त योजना कक्षा ४ देखि ८ कक्षासम्म नगरपालिकाका १८ वटा सामुदायिक विद्यालयमा लागू हुने शिक्षा शाखाका शिक्षा अधिकृत राम बहादुर कटुवालले बताएका छन् । उनले विद्यार्थीहरुले गुमाएको सिकाइ पुनः प्राप्त गर्न मात्र नभई नियमित पाठ्यक्रमलाई दु्रत रुपमा कभर गरेर उनीहरुको ज्ञान, सीप, र दक्षतामा सुधार ल्याउन उक्त योजना यसै शैक्षिक वर्षबाट लागू हुने बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायले सिकाइ अपुरण तथा द्रुत सिकाइ योजना लागू भएपछि विद्यार्थीको सिकाइ स्तरमा सुधार गर्दै यसको नतिजा राम्रो देखिने विश्वास व्यक्त गरे ।

बडीमालिका नगरपालिका ७ का अध्यक्ष तथा नगर प्रवक्ता धर्मराज पाध्याले सामुदायिक विद्यालयमा उक्त योजना लागू भएपछि विद्यार्थीको विधिधता पहिचान गर्दै शिक्षण सिकाइमा सहयोग पुग्ने बताएका छन् । पालिकाभित्रका धेरैजसो विद्यालयको नतिजा कमजोर देखिदैँ गएको भन्दै सबैले जिम्मेवारीपूर्वक चौमासिक रुपमा योजना बनाएर लाग्नु पर्नेमा जोड दिएका छन् । अध्यक्ष पाध्यायले अब विद्यालयमा व्यावहारिक शिक्षा प्रदान गर्न तीनै तहका सरकारले जोड दिनु पर्ने र दु्रत सिकाइ योजनालाई विद्यार्थीको इच्छा, चाहना र आवश्यकताका क्षेत्रमा लागू गर्न सके थप प्रभावकारी हुने बताए ।

बडीमालिका ७ का अध्यक्ष तथा नगर प्रवक्ता धर्मराज पाध्यायको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम शिक्षा शाखा प्रमुख तथा शाखा अधिकृत रंगमल विक, शिक्षा अधिकृत राम बहादुर कटुवालको सहजीकरणमा सञ्चालन गरिएको सो कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष कृष्ण कार्की, ५ का अध्यक्ष धर्मपाल मिजार, ८ का अध्यक्ष चन्द्र थापा, ९ का अध्यक्ष सूर्यकिरण विक, वडा नं ६ का कार्यवाहक वडाध्यक्ष परे बडुवाल, विभिन्न विद्यालयका प्रधानाध्यापक, पीसविन आभा परियोजना संयोजक पदम कठायत तथा विभिन्न शाखाका शाखा प्रमुख लगायतको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार