
बाजुरा— नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीले महाधिवेशन प्रतिनिधि चयन प्रक्रियाले पार्टी संगठनभित्र मजबुत एकताको सन्देश दिएको बताएका छन्। प्रेस चौतारी नेपाल बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले नेतृत्त्व तहदेखि जनतासम्म समान भावना र सहकार्यको वातावरण रहेकाले प्रतिनिधी चयन सहज र सफल भएको बताए। उनका अनुसार प्रतिनिधि चयन कुनै प्रतिस्पर्धा वा विवादको विषय नभई संगठनलाई झनै सुदृढ बनाउने अवसरका रूपमा प्रस्तुत भएकाे बताएका छन। “एमालेलाई अझ व्यवस्थित, अनुशासित र एकताबद्ध बनाउने दिशामा यो प्रक्रियाले सकारात्मक सन्देश दिएको छ,” अध्यक्ष ओलीले भने।
पत्रकार सम्मेलनमा उनले पार्टीभित्र आन्तरिक एकता बलियो बनाउँदै महाधिवेशनलाई सफल बनाउने तयारी तीव्र रूपमा अघि बढाइएकाले बाजुराबाट जाने प्रतिनिधिहरू आत्मविश्वासका साथ भूमिकामा सहभागी हुने विश्वास व्यक्त गरे। साथै, उनले मिडियाको भूमिका लोकतान्त्रिक प्रक्रियामा महत्वपूर्ण हुने उल्लेख गर्दै निष्पक्ष र तथ्यपरक पत्रकारिताको अपेक्षा पनि व्यक्त गरे।
प्रतिनिधि छनोटपछि एमाले नेताहरूले सर्वसम्मत निर्णयले संगठनभित्र ‘एकता, त्याग र हार्दिकता’ झनै मजबुत भएको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीका अनुसार, “सर्वसम्मत चयनले बाजुरा एमाले अझै बलियो, संगठित र लक्ष्य केन्द्रित रूपमा अघि बढ्ने संकेत दिएको छ ।” पार्टीले सर्वसम्मत चयनलाई आगामी राजनीतिक गतिविधिहरूमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ ।
बाजुराबाट १० औं महाधिवेशनका लागि पनि प्रतिनिधी सर्वसम्मत छानिएका थिए । भने नवौं का लागि चुनाव गरिएको थियो । जिल्लामा पार्टीभित्र देखिएको समन्वय, सहकार्य र आपसी विश्वासका कारण यसपालिको चयन प्रक्रिया सहज र विवादरहित बनेको एमाले नेताहरूले बताएका छन् । बाजुरा जिल्ला कमिटीले सर्वसम्मत प्रतिनिधी छनोट गरेर बलियो एकता, हार्दिकता र नेता र नेतृत्व प्रतिको सम्मान देखाएको पार्टी सचिव काशी विकले बताएका छन ।
प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्यायको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओली प्रमुख अतिथी रहेका थिए । सम्मेलनमा नेकपा एमाले जिल्ला कमिटी सचिव काँशी वि.क.,संगठन विभाग प्रमुख तथा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का,जिल्ला कमिटी सदस्य कृष्ण खड्का,मानबहादुर कार्की,युवासंघ बाजुराका संयोजक बिस्न कार्की लगायत पत्रकारहरु सहभागी थिए । पत्रकार सम्मेलन प्रेस चौतारी नेपाल बाजुराका सचिव सुशिल रोकायाले गरेका हुन् ।
