
काठमाडौं— नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीको चरणमा रहेको बताएको छ ।
बुधबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको ११ औं राष्ट्रिय महाधिवेशनको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसबारे जानकारी दिए ।
उनले बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरुले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराएको बताए ।
‘पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनको सचिवालयको दोस्रो बैठक हो । महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरुले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र केके काम गर्नुभयो ? प्रगति विवरण के छ, कहाँ थप काम गर्न बाँकी छ, यसमा सबै समितिका संयोजकले प्रतिवेदन प्रश्ततु गर्नुभयो । पार्टीले महाधिवेशनमा प्रश्तुत गर्ने लोगोको बारेमा छलफल भयो । अन्तिम रुप दिने तयारी गरिरहेका छौँ,’ उनले भने ।
पार्टीले महाधिवेशनमा प्रस्तुत गर्न लागेको लोगोको बारेमा पनि छलफल भएको र अन्तिम रुप दिने तयारी भइरहेको पनि बताए । पार्टीको महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प: समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ रहेको जानकारी दिए ।
आफूहरूले संवैधानिक हिसावले अध्यावधिक गर्नका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको र यो नियमित काम भएको बताए ।
‘पार्टीको महाधिवेशनको मुख्य नारा निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प: समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य भनेर प्रमुख नारा बनाएका छौं । सबै समितिले तोकिएको कार्यक्षेत्रभित्र गर्नुपर्ने कामको बारेमा छलफल भएको छ । महाधिवेशनको तयारीको अन्तिम तयारीमा छौं,’ उनले भने ।
