
बाजुरा– महिलामाथि हुने डिजिटल हिंसासहित सबै प्रकारका लैङ्गिक हिंसाको अन्त्यका लागि विश्वभर सञ्चालन हुँदै आएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बाजुरामा पनि विभिन्न कार्यक्रम सहित सुरु गरिएको छ । “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नारासहित सुरु भएको अभियानको औपचारीक रुपमा उद्घाटन गरिएको हो । अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात (मंसिर ९ देखि २४)सम्म सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रममा डिजिटल प्लेटफर्ममा बढ्दै गएको दुरुपयोग, साइबर बुलिङ, अनलाइन उत्पीडन तथा महिलाहरूलाई लक्षित गर्ने डिजिटल हिंसा अन्त्यका लागि सामुदायिक सहकार्य र सचेतना आवश्यक रहेको सहभागीहरुले बताएका छन ।
कार्यक्रमका प्रमुख अतिथि तथा समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले अनलाइनबाट हुने हिंसा ‘देखिँदैन तर अत्यन्तै गम्भीर’ रुप लिईराखेकोले यसमा समाजले सजक हुनुपर्ने बताएका छन । “अनलाइनमा गरिने धम्की, अश्लील सन्देश, चरित्रहत्या, सामाजिक प्रतिष्ठामा प्रहार, फोटो दुरुपयोग जस्ता समस्याले धेरै महिला र बालिकाहरू मानसिक तनावमा छन्। डिजिटल हिंसा रोक्न कानुन कडा छ, तर कार्यान्वयनमा अझै धेरै चुनौती छन्। समुदाय, अभिभावक र युवाहरूले डिजिटल जगतमा जिम्मेवार बन्नुपर्ने बताएका छन । पीडितहरू ढुक्क भएर उजुरी गर्न सकून् भन्ने वातावरण बनाउन समाजलाइ सिकाउनुपर्ने बताए ।” उनले डिजिटल साक्षरताको अभाव, गोपनीयताप्रति बेवास्ता र प्रविधिको अविवेकपूर्ण प्रयोगकै कारण हिंसा बढेको बताए ।
त्यसै गरि कार्यक्रमका अध्यक्ष तथा बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले डिजिटल प्रविधिको दुरुपयोगबाट महिलाहरू बढी प्रभावित भइरहेका बेला समुदायको सक्रियता अत्यावश्यक रएको बताए। उनका अनुसार— “आजको युगमा हिंसाका रूप र शैली परिवर्तन भएका छन्। डिजिटल प्लेटफर्मले शिक्षादेखि रोजगारसम्म धेरै अवसर खोलेको छ, तर दुरुपयोगले महिलाहरू अत्यन्त जोखिममा परेका छन् । हाम्रो नगरपालिका लैङ्गिक हिंसा रोकथामका कार्यक्रमलाई अझ सशक्त बनाउँदैछ । विद्यालयदेखि समुदायसम्म डिजिटल सुरक्षा, जिम्मेवार प्रयोग र कानुनी अधिकारका विषयमा नियमित रूपमा सचेतना विस्तार गरिरहेको भए पनि प्रभाबकारी हुन नसकेको बताएका छन । परिवार, विद्यालय, स्थानीय तह र सुरक्षा निकाय सबैको साझा प्रयासबिना डिजिटल हिंसा रोक्न सकिँदैन।” नगर प्रमुख खड्काले विशेषगरी युवा तथा किशोर–किशोरीलाई डिजिटल प्लेटफर्मको सुरक्षित प्रयोगबारे अनिवार्य रूपमा सिकाउनुपर्नेमा जोड दिएका छन ।
कार्यक्रममा विभिन्न जिल्ला प्रहरी कार्यालय बाजुरा, सामाजिक संघ–संस्था, स्वास्थ्य संस्था, महिला समूह सामुदायीक बन उपभोक्ता महासघं बाजुरा लगायत संस्थाहरुको सहकार्यमा बडीमालिका नगरपालिकाको आयोजना संचालन भएको बडीमालिका नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाले बताएकी छन । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो।
अभियानअन्तर्गत बडीमालिका नगरपालिका र जिल्ला स्थित गैरसरकारी संस्थाहरुको सहकार्यमा संचालन भएको कार्यक्रम सचेतना कार्यक्रम सहित बजार परिक्रमा गरिएको थियो । बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका समन्वय प्रमुख तुलसीराम रोकाया रहेका थिए ।
बडीमालिका नगरपालिका बाल कल्याण अधिकारी राम बहादुर खत्रीले संचालन गरेको कार्यक्रमको स्वागत बडीमालिका नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाले गरेकी थिइन । यो अभियान आजदेखी औपचारीक रुपमा सुरु भए पनि १६ दिनसम्म बिभिन्न कार्यक्रम, छलफल, अन्तरक्रिया तथा जनचेतनामूलक गतिविधि गरिने आयोजकले जनाएको छ ।
