
बाजुरा—बाजुराको सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी भेग कोल्टीतर्फ जादैँ गरेको जीप दुर्घटना भएको छ । शनिवार दिउँसो बुढीनन्दा नगरपालिका १० पाण्डुसैन नजिकै जीप दुर्घटना भएको हो ।
चालक सहित ६ जना यात्रु सवार भे १ च ७८७ नम्बरको जीप एक्कासी अनियन्त्रित भएर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटका अनुसार उक्त दुर्घटनामा परी चालक सहित ६ जना घाइते भएका छन् । घाइते हुनेमा चालक गौमुल–६ सटेडाका अन्दाजी २१ बर्षका तुलाराम चदारा, सवार यात्रु बडीमालिका नगरपालिका ७ बस्ने अन्दाजी ४२ बर्षका संकरराज जैशी छन् । त्यस्तै बुढीनन्दा–१ का अन्दाजी ५३ का जंगविर सार्की, सेते ल्वार, अन्दाजी ४४ का जयलाल विक र बडीमालिका –७ बस्ने अन्दाजी ३२ बर्षका जयराज जैशी घाइते भएका छन् ।
दुर्घटनामा परी घाइते भएकाहरुको हात, खुट्टा, टाउको सहित शरीरका विभिन्न ठाउँ चोट लागेको छ भने सबै जनाको अवस्था सामान्य रहेको छ । अहिले चालक बाहेक घाइते यात्रु ५ जनाको कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
