
जनकपुरधाम —मधेसको मुख्यमन्त्रीमा जितेन्द्रप्रसाद सोनार (सोनल) नियुक्त भएका छन्। मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेसको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनललाई नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेर दाबी पेस गरिएकोमा प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा सोनललाई नियुक्त गरेको हो। सोनललाई जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) सहित ५ राजनीतिक दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।
