
बाजुरा—बाजुराको बडीमालिका नगरपालिकाले बालबालिकाका लागि सार्वजनिक वित्त र नागरिक सहभागीता नीति अघि सारेको छ । नगरपालिकाले बालबालिकाहरुका माग, हक अधिकार समेट्ने गरी हरेक योजना तथा कार्यक्रममा नागरिक सहभागीता सुनिश्चित गर्न सो नीति ल्याएको हो ।
निड्स नेपालको साफेदारीमा अघि सारेको सार्वजनिक वित्त र नागरिक सहभागीता नीति नगरपालिकाले यस अघि नै पारित गरिसकेको जनाएको छ । उक्त नीति कार्यान्वयनका लागि आइतवार अभिमुखीकरण कार्यक्रम समेत गरेको छ । निड्स नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको आयोजना, युरोपियन युनियन र संयुक्त राष्ट्र संघको सहकार्य तथा बडीमालिका नगरपालिकाको समन्वयमा कार्यक्रम गरिएको हो ।
बालबालिकाका हक अधिकार पालिकाको नीति तथा कार्यक्रम योजनामा सम्बोधन गरी नागरिक सहभागीता सुनिश्चित गर्न सो नीतिमाथि छलफल गरिएको निड्स नेपाल जिल्ला फिल्ड अफिसर रामदेवि कटुवालले बताइन् । पालिकाका योजनामा बालबालिकालाई समेटेर नीति निर्माण तथा हरेक कार्यक्रममा नागरिक सहभागीता बढाउन अभिमुखीकरण गरिएको उनले बताएकी छन् । त्यस्तै निड्स नेपाल संस्थाले नगरपालिकामा गुनासो व्यवस्थापन, बालबालिकाका लागि सचेतनाका कार्यक्रम, सामाजिक सुरक्षामा नागरिकको पहुँच, बालमैत्री स्थानीय शासन जस्ता कार्यक्रम गर्दै आएको जानकारी दिएकी छन् ।
कार्यक्रममा बोल्दै बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा कुमारी थापाले पालिकाले बालबालिकाको क्षेत्रमा पर्याप्त लगानी गरे पनि परिमाणमुखी बनाउन नसकिएको बताएकी छन् । उनले यसअघिका अधिकांश कार्यक्रमहरु बजेट सक्नमा मात्रै सीमित भएको भन्दै आगामी दिनमा सबै एकजुट भएर कार्ययोजना सहित लाग्नु पर्ने बताइन् । विभिन्न साझेदार निकायसँगै सरोकारवालाहरुसँग समन्वय गर्दै यस्ता कार्यक्रमहरुलाई प्रभावकारी बनाउन बृहत छलफल गरेर आजैबाट लाग्नु पर्नेमा नगर उपप्रमुख थापाले जोड दिइन् ।
त्यस्तै, अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले पालिकाले विभिन्न कार्यक्रममा बालबालिकालाई समेटे पनि प्रभावकारी कार्यान्वयन तथा बाल/नागरिक मैत्री बनाउनु पर्नेमा जोड दिएका छन् । त्यस्तै उनीहरुले बालबालिकाका क्षेत्रमा जति लागनी गरे पनि बालविवाह, लागूऔषध दुर्व्यसनी बढ्दै गएको भन्दै समुदाय स्तरबाट नै सचेतनामूलक, क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका कार्यक्रमलाई जोड दिनु पर्ने बताएका छन् ।
बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा कुमारी थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझी, वडा अध्यक्ष, निड्स नेपाल जिल्ला फिल्ड अफिसर रामदेवि कट्वाल, विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी लगायतको सहभागीता थियो । मदनराज जैशीले प्रस्तुतीकरण गरेको कार्यक्रमको सञ्चालन पालिकाका कर्मचारी कृष्ण खड्काले गरेका हुन् ।
